नेकपाले सुदूरपश्चिम प्रदेशसभामा पठायो ‘दल मर्ज’को निर्णय, खगराज बने दलको नेता
धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दल मर्ज गर्ने निर्णय सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा पठाएको छ। तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकले उक्त निर्णय औपचारिक रूपमा सचिवालयमा बुझाएको हो।
बैठकले नेकपाको संसदीय दलको नेतामा खगराज भट्टलाई चयन गरेको छ। भट्ट यसअघि माओवादी केन्द्रका संसदीय दलका नेता थिए। उनका अनुसार बैठकमा साबिक तीनै दलका १५ जना प्रदेशसभा सदस्य सहभागी थिए। निर्वाचनका कारण केही सदस्य उपस्थित हुन नसके पनि उनीहरूले दल मर्ज र दल नेता चयनको निर्णयमा सहमति जनाइसकेको भट्टले बताए।
दल नेता चयनपछि बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा प्रदेशसभा सदस्यहरू रमेशसिंह धामी, ओमविक्रम भाट ‘सरल’, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी रहेका छन्।
तीन दलबीच एकता भएसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा सबैभन्दा ठूलो दल बनेको छ। साविक माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका तीन जना (एक जना निलम्बनमा) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य गरी कुल २१ सदस्य पुगेपछि नेकपा पहिलो दल बनेको हो।
नेकपा पहिलो दल बनेसँगै नेपाली कांग्रेस दोस्रो स्थानमा झरेको छ, जसका १८ प्रदेशसभा सदस्य छन्। नेकपा एमालेका ११ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का एक जना प्रदेशसभा सदस्य छन्। स्वतन्त्र प्रदेशसभा सदस्य तारा जोशीले राजीनामा दिएर डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्।