कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ
कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ धनगढी उपमहानगरपालिका–१३, राजपुर क्षेत्रबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित धनगढी उपमहानगरपालिका–१ निवासी २९ वर्षीय दिनेश बि.क.लाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी, लम्कीचुहा नगरपालिका–१, लम्की बजारबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही स्थान निवासी १९ वर्षीय प्रेम बि.क.लाई पनि आइतबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको टोलीले बाटोमा शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
त्यस्तै, टिकापुर नगरपालिका–९, खक्रौला क्षेत्रबाट १ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित टिकापुर नगरपालिका–८ निवासी १९ वर्षीय धनराज बुढा र एक १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रूपमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइँदै थप अनुसन्धान भइरहेको छ।