सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुन प्रतियोगिता हुने

२०८२ माघ २५, ०५:४४ खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरियामा म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ । दुर्गालक्ष्मी नमुना माविमा गठित पूर्व विद्यार्थी मञ्चको आयोजनामा यही फागुन ७ गते म्याराथुन प्रतियोगिता आयोजना हुने भएको हो ।

‘दुर्गालक्ष्मी दौडिन्छ’ शिर्षक दिईएको सो म्याराथुन प्रतियोगिताको बारेमा आयोजक दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. २५ हजार ५ सय ५५ रहेको छ भने द्धितिय पुरस्कार १५ हजार ५ सय ५५ रहेको प्रतियोगिताका संयोजक एवम् पूर्व विद्यार्थी मञ्चका सदस्य प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको तृतिय पुरस्कार नगद रु. ५ हजार ५ सय ५५ रहेको छ । भट्टले महिला सहभागीहरुमध्येबाट उत्कृष्ट सहभागिलाई पनि पुरस्कारको व्यवस्था गरिएको बताए । उनका अनुसार प्रतियोगितामा सहभागि भएर उत्कृष्ट प्रदर्शन गर्ने महिला धावकलाई नगद रु. ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिनेछ ।

प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविमा अध्यापन गरेका पूर्वविद्यार्थीहरु मात्रै सहभागि हुन पाउने भट्टले बताए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवै धावकहरुलाई सँगै दौडाईनेछ । उनले त्यसो गर्नाको मुख्य कारण महिलाहरु कम सहभागि हुनु रहेको बताए ।

उनले दुर्गालक्ष्मीमा अध्यापन गरेर बाहिरीएका पूर्व विद्यार्थीहरुलाई दुर्गालक्ष्मी सँग जोड्नका लागि मञ्चको स्थापना गरिएको बताए । उनले मञ्च मार्फत विद्यालयलाई देशकै नमुना बनाउनका लागि प्रत्यके वर्ष कुनै न कुनै गतिविधिहरु गरिने समेत बताए । उनले म्याराथुन प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने योजना रहेको बताए ।

उनले दुर्गालक्ष्मी नमुना माविकै अगाडीबाट सुरु हुने म्याराथुन प्रतियोगिता गोदावरी पुलमा पुगेर समापन हुने बताए । उनले म्याराथुन समाप्त भएपश्चात गोदावरी धाममा पूर्व विद्यार्थीहरुका लागि पिकनिक कार्यक्रम आयोजना गरिने बताए ।

प्रजातन्त्र दिवसका दिन आयोजना हुने म्याराथुन प्रतियोगिताको यस वर्षको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको छ ।

कमेन्ट लोड गर्नुस