सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका उम्मेदवारलाई चेम्बर अफ कमर्सको कार्ययोजना हस्तान्तरण

२०८२ माघ २४, ०३:१७ खबर संवाददाता

धनगढी: समृद्ध सुदूरपश्चिम अभियानअन्तर्गत नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा उम्मेदवारहरूका लागि तयार पारेको कार्ययोजना हस्तान्तरण गरेको छ।

शनिबार आयोजित कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवारहरूसहित उपस्थित उम्मेदवारलाई कार्ययोजना प्रदान गरिएको हो। सो अवसरमा उक्त क्षेत्रका १६ मध्ये ७ जना उम्मेदवारको सहभागिता रहेको थियो।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीका अनुसार प्रदेशका ९ वटै जिल्लाका १६ निर्वाचन क्षेत्रका सबै उम्मेदवारलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गरिनेछ। चेम्बरका शाखा रहेका जिल्लामा प्रत्यक्ष रूपमा हस्तान्तरण गरिने र शाखा नभएका जिल्लाका उम्मेदवारलाई हुलाक तथा ह्वाट्सएपमार्फत कार्ययोजना पठाइने उनले जानकारी दिए।

उक्त कार्ययोजनामा पाँच नीतिगत प्रतिबद्धतामार्फत सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा मानवीय रूपान्तरणका लागि स्पष्ट नीति, प्राथमिकता र कार्यदिशा प्रस्तुत गरिएको छ। कार्ययोजनामा स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी, उद्यम तथा डिजिटल रूपान्तरण, स्वास्थ्य–शिक्षा र मानव पूँजी, भौतिक पूर्वाधार तथा रणनीतिक पहुँच, साथै पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायका विषय समेटिएका छन्।

कमेन्ट लोड गर्नुस