सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनताले फाइल बोकेर काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य मेरो लक्ष्य हो: नरनारायण शाह 'मनु'

२०८२ माघ २४, ०२:३३ खबर संवाददाता

धनगढी:  नेपाली कांग्रेसका नेता नरनारायण शाह ‘मनु’ कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका मनु पहिलोपटक संघीय संसद्को उम्मेदवार बनेका हुन्। उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्रीसमेत हुन्।

चुनावी अभियानका क्रममा मनुले नयाँ चुनावी एजेण्डा सार्वजनिक गर्दै निर्वाचित भए जनताको सेवा र समस्या समाधानको केन्द्र काठमाडौं नभई धनगढी र निर्वाचन क्षेत्रमै रहने बताएका छन्। देश संघीयतामा प्रवेश गरिसकेपछि पनि सानातिना कामका लागि जनताले सिंहदरबार धाउनुपर्ने अवस्था संघीयताको मर्मविपरीत भएको उनको भनाइ छ।

‘म निर्वाचित भए मेरो सचिवालय यहीँ निर्वाचन क्षेत्रमा राख्छु र जनताका समस्या यहीँबाट समाधान गर्ने प्रयास गर्छु,’ मनुले भने, ‘संघीयताको अर्थ निर्णय र सेवा जनताको नजिक पुर्‍याउनु हो।’

मनुले धनगढीमा स्थायी सचिवालय स्थापना गरी त्यसलाई सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। सचिवालयमार्फत जनताका गुनासा, सुझाव र मागलाई व्यवस्थित रूपमा संकलन गरी संघीय संसद्मा उठाइने र आवश्यक परे सम्बन्धित मन्त्रालय तथा निकायसँग प्रत्यक्ष समन्वय गरेर समाधान खोजिने उनले बताए।

‘जनताले फाइल बोकेर काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य मेरो लक्ष्य हो,’ मनु शाहले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, कृषि र सिँचाइ जस्ता विषयमा सचिवालयमार्फत पहल हुनेछ।’

उनले आफू निर्वाचित भए काठमाडौं केन्द्रित शासन प्रणालीलाई चुनौती दिने उल्लेख गर्दै सांसद भनेको राजधानीमा बसेर भाषण गर्ने मात्र नभई जनताको घरदैलोमा पुगेर काम गर्ने प्रतिनिधि हुनुपर्ने धारणा व्यक्त गरे।

चुनावी अभियानका क्रममा मनु शाह गाउँ–टोलमा पुगेर स्थानीयवासीका समस्या सुनिरहेका छन्। उनका अनुसार सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य सेवा, शिक्षा र रोजगारी कैलाली क्षेत्रका प्रमुख समस्या हुन्। पाँच वर्षमा एकपटक मात्र देखिने पुरानो राजनीतिक संस्कृतिको अन्त्य आवश्यक रहेको बताउँदै उनले निर्वाचनपछि पनि निरन्तर जनतामाझ रहने प्रतिबद्धता जनाएका छन्।

कमेन्ट लोड गर्नुस