बैतडी बस दुर्घटना अपडेट: चार दाजुभाइ र चार बाबु-छोरासहित १३ जनाको एकै चिहान!
धनगढी: बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ बडूगाउँको मोडमा बिहीबार अपराह्न अन्दाजी ७:३० मा भएको जन्तीको बस दुर्घटनामा चार जना सहोदर दाजुभाइ र चार जना बाबु-छोराको ज्यान गएको पुष्टि भएको छ।
घटनामा १३ जनाको ज्यान गएकोमा बित्थडचिर-७ लगुणासाका नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु-भाइ हुन्। दाजु नरेन्द्र बित्थडचिर-७ का वडा सचीव हुन् भने भाइ विष्णु स्थानीय महादेव माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक हुन्। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्र र विष्णुदत्तका भतिजो हुन्।
घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। वसन्तराज दार्चुलाको शैल्यशिखरमा नगरपालिकामा कृषि प्राविधिक पदमा कार्यरत थिए।
घटनामा ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी बाबु-छोरा हुन्। केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, बेहुलाका दाजु उत्तमराज जोशीका अनुसार सोही घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन्। उनीहरू दुबैको डडेल्धुरा ल्याउने क्रममा ज्यान गएको हो।
यस्तै घटनास्थलमै ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिका घर भएका ६० वर्षीय मोहनदेव भट्ट र केशवराज भट्ट पनि बुवा-छोरा हुन्। उनीहरू मृतक नरेन्द्रराज र विष्णुदत्तका भिनाजु र भानिज हुन्।
घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका-७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने ४० वर्षीय दिपकराज जोशी गाउँले आफन्त हुन्।
घटनामा बेहुलीका १३ वर्षीय सहोदर भाइ सुशील जोशीको समेत ज्यान गएको छ। घटनामा परेर बैतडीको पुर्चौडी-७ की ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमै ज्यान गएको हो।
घटनामा बेहुलाको परिवारका सबै जना घाइते
बस दुर्घटनामा बेहुलाका बुवा ६० वर्षीय शङ्करदत्त जोशीको टाउकामा चोट लागेको र अवस्था मध्यम रहेको बैतडी प्रहरी प्रवक्ता भानदेव बडूले जानकारी दिए। उनलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ।
घटनामा १७ वर्षीय पुष्करराज जोशीको कम्मर र खुट्टामा चोट लागेको छ भने बेहुलाका ठाइला काका विजयराज जोशीको दायाँ खुट्टा टाउकामा चोट लागेको बताइएको छ।
यस्तै, १३ वर्षीय प्रेमराज जोशीको बायाँ आँखामा, १७ वर्षीया छतेश्वरी जोशीको छाती र कम्मर, १३ वर्षीय प्रतीक जोशीको बायाँ खुट्टा, ३७ वर्षीया सरिता जोशीको छाती र दुबै हात, १४ वर्षेया रेनुका जोशीको बायाँ खुट्टा र नाक, १६ वर्षीय प्रतिभा जोशीको कम्मर र खुट्टा, दिनेश जोशीको छाती र कम्मर, ११ वर्षीय अमृत जोशीको दायाँ खुट्टा, कम्मर र छाती, ८ वर्षीय प्रवेश जोशी र १२ वर्षीय मनिषा जोशीको बायाँ हातमा, ५५ वर्षीय गजेन्द्र जोशीको छाती र कम्मरमा चोट लागेको बैतडी प्रहरीले जनाएको छ। उनीहरू मध्ये अवस्था जटिल भएका घाइतेलाई धनगढी रिफर गरिएको छ भने बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, दुर्घटनामा नै घाइते हुनेमा ५० वर्षीय नमराज जोशी, १९ वर्षीया हितेश्वरी जोशी, १३ वर्षीय विपिन जोशी र १८ वर्षीय उत्सवराज जोशीको देउलेख स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
दुर्घटनामा परेर पुर्चौडी-७ अवस्थी गाउँकी चन्द्रा अवस्थीको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरीका अनुसार पुर्चौडी-७ कै कलावती अवस्थीको टाउको तथा दुबै खुट्टामा चोट लागेको छ भने १८ वर्षीया किरण अवस्थीको बायाँ आँखा र निधार तथा खुट्टामा चोट आगेको छ।
घटनामा बित्थडचिर-४ का ४० वर्षीय हरि बोहराको छाती र कम्मरमा चोट लागेको छ भने ५८ वर्षीय रघुनाथ अवस्थीको दायाँ हात र कम्मरमा चोट लागेको छ। यस्तै, कमलप्रसाद जोशीको कम्मरमा, केदारस्युँ-८ का कृष्णदत्त जोशीको दायाँ काध र कम्मरमा, बित्थडचिर-९ का ४६ वर्षीय पदमराज जोशीको बायाँ खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।
बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन्। घटनामा ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ।
यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन्।
घटनामा ज्यान गुमाउनेमा पुर्चौडी-७ र बझाङको बित्थडचिरका बेहुला परिवारका लगभग सबै आफन्त र इष्टमित्र रहेको बेहुलाका दाजु उत्तमराज जोशीले जानकारी दिए।
बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा यो समाचार तयार गर्दासम्म १३ जनाको ज्यान गएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीवार अपराह्न ७:३० मा दुर्घटनामा परेको हो।
जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचनाअधिकारी प्रहरी निरीक्षक भानदेव बडूले जानकारी दिए।
दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जना घाइतेको उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि कोटीला स्वास्थ्य चौकी पठाइएको थियो, गम्भीर घाइतेलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो