बैतडीमा २८७ बन्दुक फिर्ता
बैतडीः बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको र सोहीबमोजिम बन्दुक फिर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता बलदेब बडूले जानकारी दिए।
यसअघि जिल्ला सुरक्षा समितिले हातहतियार बुझाउन उर्दी जारी गरेको थियो। जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो। बुझाइएका बन्दुक चैत २० गतेपश्चात फिर्ता गरिने जनाएको छ।
आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो। निर्वाचनको संवेदनशील समयमा लाइसेन्सप्राप्त हतियार पनि सुरक्षा जोखिमका कारण बन्न सक्ने आकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।
प्रशासनले प्रत्येक निर्वाचनको समयमा यस्तै प्रकृतिका सावधानीमूलक व्यवस्था गर्दै आएको र यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए।