सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर नगरपालिका नेतृत्वविहीन, कार्यवाहक मेयर तोक्न अन्योल

२०८२ माघ २२, ०४:२१ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिका हाल नेतृत्वविहीन बनेको छ। नगर प्रमुख रामलाल डगौराले पदबाट राजीनामा दिएर नेकपाबाट कैलाली–१ प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वविहिन भएको हो। प्रमुख डगौराले राजीनामा दिएर हिँडे भने उपप्रमुख खडक शाह भ्रष्टाचार मुद्दा लाग्दा निलम्बनमा परेका छन्। प्रमुखले राजीनामा दिएको अवस्थामा उपप्रमुख स्वतः कार्यवाहक हुने भए पनि उपप्रमुख शाह भ्रष्टाचारमा निलम्बन भएकाले नगरपालिकाको नेतृत्व कसले लिने भन्ने अन्यौल भएको हो।

प्राुख र उपप्रमुख दुवै नभएपछि स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर कार्यपालिकाले कार्यवाहक प्रमुख तोक्नुपर्ने व्यवस्था छ। तर, कार्यपालिका बैठक बस्न नसक्दा हालसम्म कार्यवाहक मेयर तोकिएको छैन। टीकापुर नगरपालिकामा हाल १७ जना कार्यपालिका सदस्य रहेका छन्, जसमध्ये एकजनाले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाउनेछन्।

नेतृत्व नहुँदा नगर प्रमुखको हैसियतमा हुने स्थानीय स्वास्थ्य बोर्डका निर्णय, विपन्न वर्गका बिरामीलाई सहायता दिने प्रक्रिया तथा घरनक्सासम्बन्धी पुनरावेदनका काम प्रभावित भएको कर्मचारीहरू बताउँछन्। नगर प्रमुख र उपप्रमुख दुबैको अनुपस्थितिले नीति तथा कार्यक्रम निर्माण, योजना कार्यान्वयन र अनुगमनजस्ता महत्वपूर्ण नीतिगत विषयमा समस्या आउने उनीहरूको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भने हालसम्म नगरपालिकाको नियमित कामकाजमा ठोस असर नपरेको दाबी गरे। ‘अहिले तत्काल नीतिगत निर्णय गर्नुपर्ने अवस्था छैन। नगरसभा पनि भर्खरै सम्पन्न भएको छ,’ उनले भने। तर, उपप्रमुख शाह निलम्बनमा रहेकाले न्यायिक समितिका काम भने प्रभावित हुँदै आएका छन्। उनी टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि करिब दुई वर्षदेखि निलम्बनमा छन्।

कार्यवाहक प्रमुख बन्न प्रतिस्पर्धा
टीकापुर नगरपालिकाको कार्यपालिकामा हाल नेकपाको बहुमत छ। १७ सदस्यीय कार्यपालिकामा नेकपाका ११ जना सदस्य छन्, जसमा सात जना नागरिक उन्मुक्तिबाट र चार जना पूर्वमाओवादीबाट निर्वाचित हुन्। काँग्रेसका पाँच र एमालेका एकजना सदस्य छन्। नौवटा वडाध्यक्षमध्ये पूर्वमाओवादी र काँग्रेसबाट तीन–तीन, नागरिक उन्मुक्तिबाट दुई र एमालेबाट एकजना निर्वाचित भएका थिए।

एक कार्यपालिका सदस्यका अनुसार वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष लालवीर चौधरी र ज्येष्ठ कार्यपालिका सदस्य रामबहादुर नागर्जी कार्यवाहक नगर प्रमुख बन्न इच्छुक देखिएका छन्। न्यौपाने पूर्वमाओवादी, चौधरी पूर्वनागरिक उन्मुक्ति र नागर्जी काँग्रेसबाट निर्वाचित हुन्।

यसअघि २०७४ मा पनि टीकापुर पर्ने प्रतिनिधिसभा क्षेत्र नम्बर १ पाँच वर्षसम्म प्रतिनिधिविहीन बनेको थियो। थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने घटनापछि फरार अवस्थामा रहेका रेशमलाल चौधरीले चुनाव जिते पनि पछि आत्मसमर्पण गरेपछि कारागार चलान भएका थिए।

कमेन्ट लोड गर्नुस