मोबाइल लतका कारण भारतमा ३ दिदी-बहिनीले ज्यान गुमाए
धनगढी: मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ । लामो समयदेखि मोबाइल गेमको लतमा फसेका एकै परिवारका तीन दिदी–बहिनीले घरको बालकोनीबाट हाम फालेका छन् र उनीहरुको घटनास्थलमै ज्यान गएको छ ।
टीला मोड थाना क्षेत्रअन्तर्गत भारत सिटी सोसाइटीको बी–१ टावरको फ्ल्याट नम्बर ९०७ मा बस्ने १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाखीले नवौं तलाबाट हामफालेको र उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीनै जना दिदीबहिनी अनलाइन गेमको गहिरो लतमा फसेको खुलासा भएको छ। कोरोना महामारीको लकडाउनदेखि सुरु भएको मोबाइलको प्रयोग बिस्तारै ‘कोरियन लभर’ नामक टास्क(बेस्ड गेमको लतमा परिणत भएको थियो। उनीहरू चौबीसै घण्टा मोबाइलमै झुम्मिने र दैनिक क्रियाकलापहरू ९खाना खाने, सुत्ने, विद्यालय जाने० समेत एकैसाथ गर्ने गर्दथे।
संवादको कमी र बढ्दो प्रविधिको मोहले उनीहरूलाई वास्तविक संसारभन्दा भर्चुअल संसारसँग बढी नजिक तुल्याएको देखिन्छ।
प्रहरीले घटनास्थलबाट एउटा सुसाइड नोट बरामद गरेको छ, जसले घटनाको मुख्य कारण मोबाइल गेम नै रहेको थप पुष्टि गर्छ। भारतीय सञ्चारमाध्यम द भास्कर का अनुसार, उनीहरूले आफ्ना अभिभावकलाई सम्बोधन गर्दै लेखेका छन्
“मम्मी-पापा, सरी। जुन गेम तपाईंहरू हामीलाई छोडाउन चाहनुहुन्थ्यो, अब तपाईंहरूलाई थाहा हुनेछ कि हामी त्यो गेमलाई कति माया गर्थ्यौं।”
यो नोटले उनीहरूभित्र रहेको मानसिक द्वन्द्व र परिवारसँगको वैचारिक दूरीलाई स्पष्ट पार्छ।
प्रहरीले शवहरूलाई पोस्टमार्टमका लागि पठाएको छ र घटनाको बहुआयामिक पक्षबाट अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार केवल सुसाइड नोटलाई मात्र आधार नमानी अन्य सम्भावित कारणहरूको पनि खोजी भइरहेको छ। यो घटनापछि सोही क्षेत्रका बासिन्दाहरू स्तब्ध छन् भने मृतकका परिवार गहिरो शोकमा डुबेका छन्।