दार्चुलामा तीन दललाई रास्वपा र राप्रपाकै डर
धनगढीः सुदूरपश्चिमको दार्चुलामा प्रतिनिधि सभाका लागि ११ दलका उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिस्पर्धामा एघार दल भए पनि मुख्य भिडन्त भने पाँच दलबीच हुने स्थानीय मतदाताहरूको दाबी छ। दार्चुलामा यो पटक नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने स्थानीयको आँकलन छ।
आगामी निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना,काँग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेशसिंह सामन्त र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सेवा निवृत्त कर्णेल राजेश चन्द उम्मेदवार छन्। यद्यपि मुख्य प्रतिस्पर्धा एमालेका ठगुन्ना र कांग्रेसका जोशीबीच हुने आँकलन गरिएको छ।
दार्चुलामा एमालेले गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ। उनले २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जित निकालेका थिए। उनी यसपटक तेस्रो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक रहेका ठगुन्ना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने नेपाली काँग्रेसका दिलेन्द्र बडूसँग पराजित भएका थिए। २०७९ मा काँग्रेस-माओवादी गठबन्धनका उम्मेदवार बडूले ठगुन्नालाई पराजित गरेका थिए भने २०७४ मा एमाले-माओवादी गठबन्धनका ठगुन्नाले बडूलाई पराजित गरेका थिए।
काँग्रेसले धर्मानन्द जोशीलाई पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको हो। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ पपरथलाका जोशी बडूले उम्मेदवार नहुने भएपछि प्रतिस्पर्धामा उत्रिएका हुन्। संयुक्त राष्ट्रसंघ (युएन) मा काम गरिसकेका जोशी कानुनी पृष्ठभूमिका व्यक्ति हुन्। दार्चुलाबाट प्रतिनिधित्व गर्ने काँग्रेसका पुराना नेता दिलेन्द्र बडूले यसपटक निर्वाचन नलड्ने घोषणा गरेपछि जोशी नयाँ अनुहारका रूपमा राजनीतिमा प्रवेश गरेका हुन्।
दार्चुलाको चुनावी विगत
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन थियो। सोही गठबन्धनको बलमा काँग्रेस उम्मेदवार बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका ठगुन्नालाई दुई हजार १३४ मतको अन्तरले पराजित गरेका थिए। ठगुन्नाले उक्त निर्वाचनमा २६ हजार ३८१ मत प्राप्त गरेका थिए।
२०७४ को निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन हुँदा ठगुन्ना विजयी भएका थिए। त्यसबेला काँग्रेस उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २३३ मत ल्याउँदा ठगुन्नाले २८ हजार ९९८ मतसहित जित निकालेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने सबै दल एक्लाएक्लै लडेका थिए, जसमा एमालेबाट ठगुन्ना विजयी भएका थिए। दार्चुलामा २०६४ सालको संविधानसभा निर्वाचनबाहेक अधिकांश चुनाव काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ। काँग्रेस र एमालेले पालैपालो जित्ने गरेका छन्। यद्यपि २०४८ मा भने दुई क्षेत्र मध्ये एकबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जितेको इतिहास छ।
यस्तै, २०६४ मा भने तत्कालीन माओवादीका उम्मेदवार लक्ष्मणदत्त जोशी निर्वाचित भएका थिए। उनै जोशीलाई अहिले नेकपाले आफ्नो उम्मेदवार बनाएको छ। २०६४ पछि जोशी कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवार बन्न सकेका थिएनन्।
दार्चुलामा रास्वपा र राप्रपा सबैका लागि चुनौती
दार्चुलामा सांगठनिक रूपमा नेकपामा तेस्रो शक्तिका रूपमा हेरिँदै आएको थियो। २०७९ को स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण उसले उल्लेखनीय सफलता हासिल गरेको थियो। अपि हिमाल, मार्मा, लेकम र नौगाड गाउँपालिकामा अध्यक्ष तथा व्याँस गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। काँग्रेसले भने गठबन्धनका बाबजुद अपेक्षित नतिजा निकाल्न सकेन।
स्थानीय तहमा एमालेले महाकाली र शैल्यशिखर नगरपालिका, दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिका जितेको छ भने लेकम गाउँपालिकामा उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य एमालेकै हातमा छन्। यस आधारमा एमालेको सांगठनिक पकड बलियो देखिन्छ।
यस्तै, पहिलोपटक रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका राजेशसिंह सामन्तले छोटो समयमै जिल्लाभर संगठन विस्तार गरेका छन्। उनी यसअघि राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापक थिए। शिक्षक पेशा छाडेर अहिले उनी रास्वपाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। उनले जिल्लाभर पार्टीको संठन विस्तार गरेको र मतदाताको समेत रास्वपामा आकर्षण देखिएकाले एमाले, काँग्रेस र नेकपाका लागि रास्वपा मुख्य चुनौति बनेको छ। रास्वपाले यो पटक सबै दलमा जाने मत तान्ने सम्भावना रहेको छ। जेन्जी आन्दोलनका कारण रास्वपाले काँग्रेस र एमाले र नेकपामा जाने मत बढीभन्दा बढी तान्ने अनुमान गरिएको छ।
दार्चुलामा यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत राम्रो मत ल्याउने अनुमान गरिएको छ। राप्रपाले नेपाली सेनाका सेवा निवृत कर्णेल राजेश चन्दलाई उम्मेदवार बनाएको छ। नेपाल प्रहरीका पूर्वआइजिपी रमेश चन्दका सहोदर भाइ समेत रहेका चन्दलाई बलियो उम्मेदवारका रुपमा हरिएको छ। यो पटक दार्चुलाबाट राप्रपाले चुनाव जित्ने राप्रकाका स्थानीय नेताहरूको दाबी छ। राप्रपाका जिल्ला उपाध्यक्ष चक्रबहादुर बमले राप्रपा संगठनात्मक र राजनीतिक रुपले सबै दलहरूसँग प्रतिस्पर्धा गर्दै चुनाव जित्ने अवस्थासम्म पुगेको दाबी गरे। उनले राप्रपाले यो पटक काँग्रेस, एमाले र नेकपाकै परम्परागत मत आफूतिर तान्ने रणनीति बनाएको बताए। दार्चुलामा यो पटक कुल ९२ हजार ९४८ मतदाता रहेका छन्। यो पटक काँग्रसे, एमाले र नेकपाको परम्परागत मतभारमै ठुलो बदलाव आउने अनुमान गरिएको छ।