जेन्जी आन्दोलनमा गोली लागेर घाइते प्रकाश पाँच महिनापछि अस्पतालबाट डिस्चार्ज
काठमाडौँः नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि भदौ २३ गते भएको जेन्जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका प्रकाश करिब पाँच महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गोली लागेर बायाँ खुट्टामा गम्भीर स्नायु क्षति भएका प्रकाशको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लामो समय आईसीयूमा उपचार गरिएको थियो। चिकित्सकका अनुसार स्नायु पूर्ण रूपमा निको हुन अझै समय लाग्ने र नियमित फलोअप उपचार आवश्यक रहनेछ।
आन्दोलनका क्रममा ढलेका बेला खुट्टाबाट छुटेको र रगतले लतपतिएको सेतो जुत्ताको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले देशभर आक्रोश र बहस सिर्जना गरेको थियो। उक्त तस्बिर जेन्जी आन्दोलनको प्रतीकका रूपमा स्थापित भएको थियो।
प्रकाशको जीवन संघर्ष आन्दोलनभन्दा अघिदेखि नै चुनौतीपूर्ण रहँदै आएको छ। उनी तालिमप्राप्त हेल्थ असिस्टेन्ट हुन् र यसअघि कारागारमा स्वास्थ्यकर्मीका रूपमा काम गरिसकेका छन्। रोजगारीका क्रममा रुस–युक्रेन युद्धको समयमा रुसी सेनामा समेत भर्ती भएका उनी स्थायित्वको खोजीमा नेपाल फर्किएका थिए। तर परिवर्तनको आवाज उठाउने क्रममा उनी स्वयं गोलीको शिकार बने।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा चौथो नम्बरमा रहेका प्रकाशले संसद् प्रवेश गरी घाइते, पीडित तथा सहिद परिवारको आवाज उठाउने चाहना व्यक्त गरेका छन्।