सुदूरपश्चिममा १७ लाखभन्दा बढी मतदाता, कुन जिल्लामा कति?
धनगढीः सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र रहेका छन्। विसं २०७८ को जनगणनाअनुसार प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ पुगेको छ भने कुल मतदाता सङ्ख्या १७ लाख १६ हजार ६६० रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
थपिएका मतदातासहित कैलालीमा सबैभन्दा बढी पाँच लाख ५१ हजार ५२ मतदाता छन्। त्यसपछि कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ र अछाममा एक लाख ६५ हजार ३३७ मतदाता पुगेका छन्। प्रतिनिधिसभाका निर्वाचन क्षेत्रअनुसार कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई क्षेत्र रहेका छन्।
एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले उक्त जानकारी दिएका हुन्।
तीन वर्षअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस आठ, तत्कालीन नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा (एकीकृत समाजवादी) तीन र नेकपा (एमाले) दुई निर्वाचन क्षेत्रमा विजयी भएका थिए। जेन्जी आन्दोलनपछिको नयाँ राजनीतिक परिवेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०८२ फागुन २१ गते हुन लागेको छ।