४२ जेन्जी सहिद परिवारलाई मासिक २१ हजार ८ सय पेन्सन
काठमाडौँः सहरी विकास मन्त्रालयले ४२ जना जेन्जी सहिदका परिवारलाई मासिक २१ हजार ८ सय रुपैयाँका दरले पेन्सन निकासा गरेको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उक्त सुविधा उपलब्ध गराइएको हो।
उक्त आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो। जेलबाट भागेका व्यक्तिबाहेक अन्यलाई सहिद घोषणा गर्ने निर्णय गरिएको थियो, जसमा तीन जना प्रहरी समेत परेका थिए। प्रहरीबाहेकका ४२ जना सहिदका परिवारलाई हाल सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम वितरण गरिएको हो।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ र वर्षमा १३ महिनाका दरले १० वर्षसम्म पेन्सन उपलब्ध गराइनेछ। यसका लागि कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ आवश्यक पर्ने र उक्त रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको उनले जानकारी दिए।