सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापियो

२०८२ माघ १९, १२:३९ खबर संवाददाता

काठमाडौँ: आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापिएको छ। निर्वाचन आयोगका अनुसार कुल २५ जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ कार्य नियमित रूपमा जारी छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भने यसअघि नै सम्पन्न भइसकेको छ।

त्यसैगरी मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिइसकेको छ। निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइबाट हालसम्म १५८ वटा सामग्री स्वीकृत भई सार्वजनिक गरिएका छन्। ती सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण भइरहेका छन्।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता प्रवर्द्धन गर्न, नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना उपलब्ध गराउन र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिहरूका लागि ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगले गरेका तयारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस