सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चुनावका लागि जनशक्ति व्यवस्थापनको तयारी

 तस्बिर: अविनाश चौधरी
तस्बिर: अविनाश चौधरी
२०८२ माघ १९, ०८:४४ खबर संवाददाता

धनगढीः आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन्।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि अन्य व्यवस्थापनका साथै जनशक्ति व्यवस्थापनको काम पनि आफूहरूले अगाडि बढाएको बताए। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि प्रदेशभरि १५ हजार ३९३ जनशक्ति खटाइने छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा ८८२, क्षेत्र नं. २ मा ८६८, क्षेत्र नं. ३ मा ८८९, क्षेत्र नं. ४ मा ९५२ र क्षेत्र नं. ५ मा ८९६ जना कर्मचारी आवश्यक पर्ने जनाइएको छ। यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ८५४, क्षेत्र नं. २ मा ८६१ र क्षेत्र नं. ३ मा ८०५ अछामको क्षेत्र नं. १ मा ७३५, क्षेत्र नं. २ मा ७५६ जना कर्मचारी आवश्यक पर्ने भट्टले जानकारी दिए। यसै गरी डोटीमा एक हजार २६०, बाजुरामा ८२६, बझाङमा एक हजार ३२३, बैतडीमा एक हजार ४९८, दार्चुलामा एक हजार एक र डडेलधुरामा ९८७ जनशक्ति आवश्यक पर्ने जनाइएको छ। निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना छनोट कार्य पूरा भइसकेको छ। 

निर्वाचन प्रहरीको तालिम पनि सुरु गरिएको छ। निकट भविष्यमै मतदाता शिक्षा कार्यक्रम पनि अगाडि बढाउने उनले बताए। मतदान स्थल व्यवस्थापन र मतदान केन्द्रको तयारी भने पछि हुुने जनाइएको छ। सुदूरपश्चिम प्रदेशभरि एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन्। कैलालीमा २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ। कञ्चनपुरमा १२२ मतदान स्थल र ३६० वटा मतदान केन्द्र रहेका छन्। 

यस्तै अछाममा १३० मतदान स्थल र २१३ मतदान केन्द्र निर्धारण गरिएको छ। यसै गरी डोटीमा ११८ मतदान स्थल र १८० मतदान केन्द्र, बाजुरामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र, बझाङमा १३७ मतदान स्थल र १८९ मतदान केन्द्र निर्धारण गरिएको छ।

बैतडीमा १२९ मतदान स्थल र २१४ मतदान केन्द्र, दार्चुलामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र र डडेलधुरामा १०४ मतदान स्थल तथा १४१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशभरि आठ लाख ५२ हजार २१९ पुरुष र आठ लाख ६४ हजार ४२३ महिला गरी कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। 

कमेन्ट लोड गर्नुस