कैलाली क्षेत्र ५ मा चार उम्मेदवारबिच रोचक प्रतिस्पर्धा
धनगढीः नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो जित हात पार्दै आएको कैलाली निर्वाचन क्षेत्र ५ मा यस पटकको निर्वाचनमा नयाँ उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ ।
विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएकोे यो क्षेत्रमा यस पटक सबै राजनीतिक दलबाट नयाँ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएकाले उहाँहरूबिच रोचक प्रतिस्पर्धा हुने भएको हो । विगतमा कांग्रेस र एमालेको दबदबा रहेको यो क्षेत्रमा अब कसले बाजी मार्ला भन्ने कुरा चासोको विषय बनेको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको क्षेत्र नम्बर ५ मा कांग्रेसले नरनारायण शाह (मनु), एमालेले यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्दबहादुर चन्दलाई चुनावी मैदानमा उतारेको छ ।
यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्यारेलाल राना थारूसहित विभिन्न दलका गरी जम्मा १५ उम्मेदवारले उम्मेदवारी दिएका छन्। मुख्य चार राजनीतिक दलबिच प्रतिस्पर्धा हुने मतदाताको आँकलन छ । शाह, ढुङ्गाना र चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको छ । आले यसअघि डोटीबाट निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार डा. आरजु राणा देउवालाई पाँच हजार मतान्तरले पराजित गरी यो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना थारू विजयी भएका थिए। रानालाई २७ हजार २०२ र राणालाई २२ हजार ३२२ मत प्राप्त भएको थियो ।
मुख्य चार राजनीतिक दलबिच प्रतिस्पर्धा हुने मतदाताको आँकलन छ । शाह, ढुङ्गाना र चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका छन्।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा अघिल्लो निर्वाचनमा जितेका एमालेका रानालाई पराजित गरी नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका थिए। पन्तको पक्षमा २१ हजार ३९२ मत आउँदा रानाले २० हजार ३१८ मत पाएका थिए। एक हजार ७४ मतले पराजित रानालाई यस पटक पनि उम्मेदवारीका लागि सिफारिस गरिएको थियो । तर एमालेले नयाँ अनुहार ढुंगानालाई मौका दिएको छ । उहाँ एमाले कैलाली अध्यक्ष पनि हुन्।
२०७९ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित प्राप्त गर्नुभएको थियो । उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना थारूले जित हात पारेकी थिईन्।
नेपाली कांग्रेसका उम्मेदवार शाहले नयाँ पार्टीसँग नभई पुरानै दलसँग आफ्नो प्रतिस्पर्धा हुने आँकलन गरेका छन्। याँ पुरानो दलभन्दा पनि व्यक्ति हेरेर मतदाताले मत दिने र उपयुक्त व्यक्ति आफू रहेको उनको विश्वास छ ।
नेकपा (एमाले) का नेता एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेको आफ्नो सङ्गठन चुस्तदुरुस्त हुनु र कुनै पनि किसिमको विवाद नरहनूले एमाले उम्मेदवार जित्ने दाबि गरे । लोकतन्त्र, सङ्घीय गणतन्त्र, देश बनाउने मुद्दा, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा गरिएको कामका कारण जनताले एमाले उम्मेदवार ढुङ्गानालाई जिताउने उनको भनाई छ।
प्रतिस्पर्धामा रहेका ढुङ्गानाले आफू लोकप्रिय मतका साथ विजयी हुने दाबी गरे। युवा पुस्ताको प्रतिनिधित्व आफूले गर्ने र यहाँको शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक समृद्धिको मुद्दालाई आफूले प्रमुख मुद्दाको रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
चुनावी प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारले मतदाता भेट्ने, प्रचार–प्रसार गर्ने कामलाई तीव्रता दिएका छन् ।