सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज स्वस्थानी व्रत समापन हुँदै

२०८२ माघ १८, ११:३४ खबर संवाददाता

काठमाडौँ: माघ शुक्ल पूर्णिमाका दिन आज एक महिनासम्म चल्ने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको स्वस्थानी व्रत आज विशेष पूजा–आराधनासहित सम्पन्न गर्न लागिएको हो।

पौष शुक्ल पूर्णिमादेखि नियमित रूपमा मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका भक्तजनले आज व्रतको अन्तिम विधि पूरा गर्नेछन्। सोही अवधिदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्य, जसमा कुमार र अगस्त्यबीचको संवाद समेटिएको छ, स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्पराको पनि आज अन्त्य हुँदैछ।

विधिपूर्वक व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी अर्पण गरी भगवतीलाई अर्घ्य दिने परम्परा छ। चढाइएका प्रसादमध्ये प्रत्येक वस्तुबाट आठ–आठ भाग पति, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई दिने गरिन्छ। यी पनि नभएमा मनोकामना पूरा होस् भन्ने कामनासहित नजिकको पवित्र नदीमा बहाउने विधि रहेको छ।

व्रत समापनको अघिल्लो रात बर्तालुले फलाहार गरी जाग्राम बस्ने चलन छ। जाग्रामका क्रममा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफ्नै स्थानकी देवीको आराधनालाई नै स्वस्थानी पूजा भनिन्छ। उत्तरायणपछिको समय ध्यान, योग र आत्मसाधनाका लागि उपयुक्त मानिने भएकाले स्वस्थान अर्थात् आत्मासँगको सम्बन्ध अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधि यसका लागि विशेष मानिन्छ।

स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रामा कमल र सिंहासनमा आसीन, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। व्रतकथाअनुसार देवीको एक हातमा नीलकमल, अर्को हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा रहेको उल्लेख छ।

स्वस्थानीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने तथा इच्छाएको वर वा वधू प्राप्त हुने जनविश्वास छ। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा पनि यसमा वर्णन गरिएको छ। व्रतको प्रभावले बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भएको प्रसंगसमेत स्वस्थानी कथामा उल्लेख गरिएको छ।


 

कमेन्ट लोड गर्नुस