बालबालिकामा पनि हुनसक्छ ग्यास्ट्रिक
काठमाडौँ: सामान्यतया ठूला मानिसमा हुने ग्यास्ट्रिक बालबालिकामा पनि देखिन सक्छ। बालबालिकामा ग्यास्ट्रिकको प्रमुख कारण ‘एच प्योलोरी’ नामक किटाणुको सङ्क्रमण हो। यो सङ्क्रमण बच्चादेखि नै सुरु हुन्छ। बच्चाले चिल्लोपिरो वा जंकफुड बढी खाने बानी भए ग्यास्ट्रिकको जोखिम बढ्छ।
पेनकिलरको अत्यधिक प्रयोगले पनि बालबालिकामा ग्यास्ट्रिक उत्पन्न हुन सक्छ। बयस्कमा ग्यास्ट्रिकले पेट दुख्ने, खाना नरुच्ने र मुखमा अमिलो अनुभव हुने गर्दछ। बालबालिकामा भने मुखबाट अमिलो पानी आउनु, बिहान र साँझ पेट दुख्नु, खाना खाएपछि पेट दुखाइ बढ्नु वा घट्नु, लगातार बान्ता आउनु र पेट फुल्ने समस्या देखा पर्छ। उपचार ढिला भए बच्चाको आहार घट्दै जान्छ र तौल कम हुन सक्छ।
समयमै उपचार नगरे ग्यास्ट्रिकले गम्भीर समस्या पनि ल्याउन सक्छ। पेटको दुखाइ बढेसँगै मुखबाट रगत आउन सक्छ, सानो आन्द्रामा प्वाल वा अल्सर देखिन सक्छ। कान्ति बाल अस्पतालमा दिनमा दुइ–तीन बालबालिकामा ग्यास्ट्रिक समस्या आउने गर्छ भने हप्तामा एक–दुई बालबालिकामा रगत बान्ता हुने समस्या पनि देखिन्छ।
बालबालिकामा गरिएको इन्डोस्कोपीअनुसार ७५ प्रतिशतमा ‘एच प्योलोरी’ सङ्क्रमण पाइन्छ। सामान्यतया १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा यस सङ्क्रमणको जोखिम हुन्छ। सानै उमेरमा शरीरमा ‘एच प्योलोरी’ भए पनि सात–आठ वर्ष नाघेपछि मात्र लक्षण देखिन थाल्छ।
‘एच प्योलोरी’को उपचार दुई हप्तासम्म औषधि सेवन गरेपछि निको हुन्छ।