सुदूर नेपाललाई विश्वसँग जोड्दै

पढ्ने रहर त्यागेर परिवारको जिम्मेवारी सम्हालिरहेकी प्रिया 

२०८२ माघ १७, ०३:०३ अनुभव भट्ट

धनगढीः १८ वर्षको कलिलो उमेरमा प्रिया भण्डारी धनगढीका गल्लीहरुमा अटो हाँकी रहेकी छिन्। उनले अटो मात्र चलाईरहेकी छैनन्। आमा र दिदि सहितको सिंगो परिवारको जिम्मेवारी आफ्नो काँधमा बोकेर जीवनका अवरोहहरु पन्छाइरहेकी छिन्। 

केही दिन अघि म आफ्नो कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा दुई–तीन वटा अटो रिक्सा रोक्ने प्रयास गरेँ, तर कुनै पनि अटो रोकिएन। केही बेरपछि एउटा अटो रिक्सा रोकियो। अटो चलाइरहेकी थिइन् एक किशोरी।

'गेटा जानुहुन्छ?' मैले साधेँ, उनले छोटो जवाफ दिइन्, 'हुन्छ, बस्नुहोस्।'

अटो केही दूरी अघि बढेपछि जिज्ञासावस उनको उमेर सोधिहालेँ।

'तपाई कति वर्ष पुग्नुभयो नि?'
'अठार वर्ष,' उनले भनिन्।

यति कम उमेरमा अटो चलाउनुको कारणबारे प्रश्न गर्दा उनले सहज तर गम्भीर स्वरमा भनिन्, 'यो त मेरो बाध्यता हो। मैले काम नगरे परिवारले खान पाउँदैन।'

'कति जना हुनुहुन्छ र घरमा,' मैले साेधेँ। 'हामी तीन जना छौँ—आमा, मेरी दिदी र म,'  उनले भनिन्। 

बुवा बारे सोधेँ, उनको जवाफ छोटो थियो 'उहाँ त हुनुहुन्न।'

ओहो! नसोधेको भए पनि हुन्थ्यो कि मन्ने महसुस भयो मलाई। किनकि उनलाई यो सबै कुरा सोधेर मन दुखाए झै लाग्यो। तर बाध्यतासँग जुधिरहेकी उनले परिवार र जीवन धान्न साहस जुटाएर संघर्ष गरिरहेको देखेर मेरो मनमा थप जिज्ञासा पलायो।  

उनको पढाइबारे सोधेँ, केहीबेर मौन रहँदै उनले भनिन्, 'पढ्न मन त छ, तर बाध्यता छ। रहरले चलाउदिन, यो अटो नचलाए भोकै बस्नु पर्छ।'

जुन उमेरमा पढ्नुपर्ने र आफ्नो जीवन बाँच्नुपर्ने हुन्छ, त्यही उमेरमा उनी परिवारको हेरचाह गर्ने जिम्मेवारीमा बाँधिएकी छिन्। परिवारकी कान्छी छोरी भए पनि १८ वर्षीकी प्रिया भण्डारी आमा र दिदीको जीवन धान्न परिवारकी मुख्य कमाउने व्यक्ति बनेकी छिन्। 

प्रियाका अनुसार उनीहरूको ६ जनाको परिवार थियो। उनका बुबा (उद्धवराज भण्डारी), आमा (लिला भण्डारी), दाजु (पवन भण्डारी), तीन दिदीबहिनी प्रिती, पिंकी र प्रिया स्वयं।

सात वर्षअघि उनका बुबाको रक्त क्यान्सरका कारण निधन भयो। उनका दाजुले परिवारलाई सहयोग गर्न  धनगढीको एसपिए कलेज नजिकै सानो क्याफे चलाउने गर्थे। तर २ वर्ष अघि, २०८० सालमा, उनका दाजुको पनि निधन भयो।

उनकी दिदी पिकीं भण्डारीको विवाह भइसकेको छ। प्रियाले केही वर्षअघि रमाइलोका लागि मात्र अटो रिक्सा चलाउन सिकेकी थिइन्, तर त्यो सीप एक दिन परिवार पाल्न काम लाग्छ भन्ने उनले सोचेकी पनि थिइनन्। अहिले विद्यालय छोडेर उनी अटो रिक्सा चलाउँछिन्, जुन उनको परिवारको एकमात्र आम्दानीको स्रोत हो।

उनकी दिदी प्रीति भण्डारीले पनि दाजुको निधनपछि कलेज छोड्नुपर्‍यो। अहिले उनी जापानीज भाषा सिक्दैछिन्, र प्रिया नै दिदीको कक्षाको शुल्क तिरिरहेकी छिन्। प्रियाले कक्षा १० को पढाइसमेत पूरा नहुँदै परिवार पाल्न रिक्सा रोज्नुपर्ने बाध्यता आइलागेको सुनाइन्।

त्यो दिन यति कुरा भयो। मैलै कुरागर्दा गर्दै यिनको विषयमा केही लेख्नुपर्छ भनेर मोवाइल नम्बर मागेको थिएँ। मैलै आफू पत्रकार भएको भन्दै उनको सम्पर्क नम्बर मागेको थिएँ। उनले घरमा सोधेर बोल्ने भन्दै नम्बर दिएकी थिइन्।

भोलिपल्ट म उनको उनको घर गएँ। ठेगाना सोध्न मैले उनकी आमा लिलालाई फोन गरेँ। 'पशुपति टोल, धनगढी वडा नम्बर १ कटान स्कुल जाने चोकमा भण्डारीको घर सोध्नुहोला,' आमा लिलाले भनिन्। म अपराह्न चार बजे त्यहाँ पुगेँ। उनकी दिदी प्रीति बरन्डामा कुचो लगाइरहेकी थिइन्।

मैले उनलाई भनेँ, 'म तपाईकी आमालाई भेट्न आएको हुँ। मैले उहाँलाई फोन गरेको थिएँ, मलाई ठेगाना दिएर आउ भन्नुभएको थियो।'

उनले भनिन्, 'आमा प्रियासँग बाहिर जानु भएको छ, १५ मिनेटमा घर आइपुग्नु हुन्छ।'
उनले मलाई बस्न कुर्सी दिइन्।

उनले मलाई चिया प्रस्ताव गरिन्। मैले 'ठिक छ' भनेँ।

चिया पिउँदै गर्दा मैले सोधेँ,  'तपाइ पढ्नुहुन्छ?'

उनले भनिन्, 'मैले कलेज दोस्रो वर्षमै छोड्नुपर्‍यो। अहिले म जापानीज भाषा सिक्दै छु, विदेश जानका लागि।'

मैले सोधेँ, 'तपाई कुनै काम पनि गर्नुहुन्छ?'

'होइन,' उनले भनिन्, 'घरायसी काममै सहयोग गर्छु।'

केही समयपछि उनकी आमा र प्रिया आइपुग्नुभयो।

मैले उनकी आमालाई 'नमस्ते आन्टी' भन्दै अभिवादन गरेँ।
'नमस्ते बाबु,' उनले पनि अभिवादन फर्काइन्।

'मैले आउनु भनेकी थिएँ, आफू बाहिर जानु पर्यो प्रिया एक्लै अटो चलाउन डराउँछे,  जवान भएकाले केटाहरूले जिस्क्याउने र फ्लर्ट गर्ने गर्छन्, त्यसैले ऊ मलाई सँगै जान आग्रह गर्छे।
मैले भनेँ,  'ठिक छ, म धेरै बेर पर्खिनँ।'

मैले उहाँसँग दैनिकी कसरी चलिरहेको छ भनेर सोधेँ।

उनले भनिन्, 'हामी कहिल्यै दुःखी परिवार थियौँ भन्ने लागेको थिएन। मेरा श्रीमान् रगतको क्यान्सरका कारण बित्नुभयो, तर त्यसपछि पनि मेरो छोरो परिवारको आधार बनेर उभिएको थियो। उसका कारण हामी फेरि सम्हालिएका थियौँ।'

'यदि ऊ विदेश गएको भए वा कतै गएको भए पनि म ऊ फर्किन्छ भन्ने आशा राखेर पर्खिरहन्थेँ। तर ऊ त त्यस्तो ठाउँमा गयो, जहाँबाट कहिल्यै फर्केर आउँदैन,' उनले भनिन्।

'तर ऊ पनि हामीलाई छोडेर गयो। त्यसयता हाम्रो जीवन आर्थिक मात्र होइन, भावनात्मक रूपमा पनि टुक्राटुक्रा भएको छ, बाबु!'

यी सबै कुरा सुन्दा मेरो मन निकै भारी भयो। तर मलाई केही प्रश्न सोध्नै पर्ने थियो। मैले सोधेँ, ' छोरा चाहीँ कसरी वित्नुभयाे?'

उनले भनिन्, 'दुई वर्ष अघि मैले उसलाई आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटेकी थिएँ। आत्महत्या गर्नुपर्ने कुनै कारण देखिँदैनथ्यो। प्रहरीले पनि सुरुमा हत्या भएको हुनसक्ने आशंका गरेको थियो। तर म शोकले यति ग्रस्त थिएँ कि अनुसन्धानमा सहयोग गर्न सकिँन। अन्ततः त्यो घटना आत्महत्या भनेर टुंग्याइयो।'

मसँग कुनै शब्द नै रहेन। मैले यत्ति मात्र सोधेँ,  'अहिले कसरी गुजारा चलाइरहनुभएको छ।'

उनले भनिन्, 'हामीसँग एउटा अटो थियो, भाडामा दिएका थियाै। तर चालकले फाइदा उठाउन थाल्यो र आम्दानी हुन छोड्यो। त्यसपछि परिवार पाल्न प्रियाले नै अटो चलाउन थालिन्।'

उनले थपिन्, 'यति सानो उमेरमा, जब उसले आफ्नो जीवन बाँच्नुपर्ने हो, उसले आफ्नी आमा र दिदीको जिम्मेवारी सम्हाल्नुपरेको छ।'

सबैभन्दा कान्छी भएर पनि परिवारको नेतृत्व गर्दै अगाडि बढिरहेकी प्रियाको साहस देखेर म मौन प्रशंसामा डुबेँ। पीडाले जन्माएको त्यो साहस, शब्दभन्दा धेरै ठूलो थियो...

 

 


 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस