सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहना नदीमाथि पुल निर्माणको शिलान्यास

२०८२ माघ १७, ०१:४५ खबर संवाददाता

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ र कैलालीको गोदावरी नगरपालिका–३ तथा १० लाई जोड्ने मोहना नदीमाथिको पुल निर्माणको शिलान्यास गरिएको छ। शनिबार आयोजित एक औपचारिक कार्यक्रमबीच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले पुलको शिलान्यास गरेका हुन्।

गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही ९गुड्डु० को सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं। ३ का वडाध्यक्ष तेजराज अवस्थी, कृष्णपुर नगरपालिका–५ का वडाध्यक्ष टेकराज पाण्डेयसहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

पुल निर्माणको ठेक्का धनगढी–५ स्थित असु खप्तड भैरव जेभीले प्राप्त गरेको छ। पूर्वाधार विकास कार्यालय धनगढीसँग ठेकेदार कम्पनीले २०८२ असार २० गते निर्माण सम्झौता गरेको हो। सम्झौता अनुसार पुल निर्माणको अवधि २०८३ पुष ३० गतेसम्म तोकिएको छ।

४० मिटर लम्बाइ र ८।२ मिटर चौडाइको उक्त पुल निर्माणका लागि भ्याट र पीएससहित ४ करोड १५ लाख ११ हजार ८५ रुपैयाँ लागत छुट्याइएको ठेकेदार कम्पनीले जनाएको छ।

निर्माण कम्पनीका ठेकेदार दीपक कुँवरका अनुसार सम्झौता छिटो भए पनि वर्षायामलगायत विविध कारणले समयमै काम सुरु गर्न सकिएको थिएन। तर अब सम्झौता अवधिभित्रै, सम्भव भए त्यसअघि नै काम सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको उनले बताए। स्रोत सुनिश्चित भए चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ छ।

दशकौँदेखि पुलको अभावमा नदी पार गर्न कठिनाइ भोग्दै आएका स्थानीयहरू पुलको शिलान्यासपछि उत्साहित भएका छन्। पुल निर्माण सम्पन्न भएपछि आवतजावत सहज हुने र दैनिक जीवनमा देखिँदै आएको समस्या समाधान हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।


 

कमेन्ट लोड गर्नुस