प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने
कञ्चनपुर: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ जना कर्मचारी खटाइने भएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र रहेका छन्। प्रत्येक स्थायी मतदान केन्द्रमा छ जनाका दरले कर्मचारी खटाइने व्यवस्था गरिएको छ। जसअन्तर्गत एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी तथा एक जना कार्यालय सहयोगी रहनेछन्।
अस्थायी मतदान केन्द्रमा भने तीन जना कर्मचारी खटाइनेछन्। ती केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।
निर्वाचनका लागि निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक तथा संस्थानका कर्मचारीलाई सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले खटाउने प्रावधान रहेको छ। प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्नेछन्।
निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन तथा खटनपटनको प्रक्रिया अगाडि बढाइनेछ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा एक सय २२, निर्वाचन क्षेत्र नं २ मा एक सय २३ र निर्वाचन क्षेत्र नं ३ मा एक सय १५ गरी कुल तीन सय ६० मतदान केन्द्र रहेका छन्। यस निर्वाचनमा विगतको तुलनामा मतदाताको चापलाई मध्यनजर गर्दै १४ वटा मतदान केन्द्र थप गरिएको छ भने दुई वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४, निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ र निर्वाचन क्षेत्र नं ३ मा एक लाख तीन हजार ८७ गरी कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन्। तीमध्ये पुरुष मतदाता एक लाख ५४ हजार ६८ र महिला मतदाता एक लाख ६० हजार ३१६ रहेका छन्।