सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने
काठमाडौँः फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन त्रुटिरहित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको छ । सुरक्षामा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालन हुन्छ । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा ३१ हजार सशस्त्र प्रहरी परिचालिन हुनेछन् ।
एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले १६५ क्षेत्रमा निर्वाचित क्षेत्र सुरक्षा बेस स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । एकीकृत सुरक्षा योजनामा भनिएको छ, ‘निर्वाचनको १ महिनाअघि देखी निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने ।’
सुरक्षा योजना अनुसार हिमालमा १७ स्थानमा, पहाडमा ७० स्थानमा र तराईमा ७८ स्थानमा बेस स्थापना हुँदै छ । माघ २१ मा बेस स्थापना गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।
तराईका जिल्लामा सशस्त्रको स्ट्राइकिङ फौज परिचालन हुनेछन् । तराईका जिल्लामा एउटा निर्वाचन क्षेत्रमा ४ वटा स्ट्राइकिङ फौज परिचालन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख छ ।
सुरक्षा योजना अनुसार पहाडमा प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा र हिमालमा एउटा स्ट्राइकिङ फौज परिचालन गरिने छ । स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिन अगाडिदेखि सवारी साधन सहित परिचालित हुनेछन् ।
निर्वाचन सुरक्षामा खटिने सशस्त्रका सकलदर्जालाई अनुशिक्षण तालिम प्रदान गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलले एसएसपीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । निर्वाचन सेलको कमाण्ड कार्य विभागका एसएसपी राजेश उप्रेतीले गरेका छन् । ७ वटा प्रदेशका बाहिनीमा ‘बाहिनी निर्वाचन सेल’ र गण, गुल्म पनि निर्वाचन सेल गठन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख छ ।
जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयको सुरक्षामा सशस्त्रले बन्दोबस्तीका सामान सहित मोबाइल, स्ट्राइकिङ्ग र रिजर्भ परिचालन गर्ने छ ।