सुदूर नेपाललाई विश्वसँग जोड्दै

माथिल्लो चमेलीया जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडी बढ्यो

२०७६ साउन ३१, ०१:३८ खबर संवाददाता

४० मेगावाटको माथिल्लो चमेलीया जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडी बढेको छ। नेपाल विद्युत् प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भएपछि निर्माणको प्रक्रिया अगाडी बढेको हो। दार्चुलाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका थिए। 

यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग ग्रीड लाईन जडानका लागि भने सम्झौता सम्पन्न भईसकेको अपी हाईड्रो पावर कम्पनीले जनाएको छ।सुरुमा साढे ८ मेघावाट क्षमताको नौगाड जलविद्युत आयोजना निर्माण गर्दै राष्ट्रिय प्रशारण लाईनमा जोडेको अपि हाईड्रो पावरले थप ८ मेघावाट क्षमताको अपर नौगाडको निर्माण अन्तिम चरणमा पुगाएपछि माथिल्लो चमेलीया जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडी बढेको हो। 

विद्युत आयोजना निर्माण गर्ने टोली एउटै भएकोले माथिल्लो नौगाड सम्पन्न भएपछि दशैँपछि माथिल्लो चलेमीयामा विद्युत उत्पादनको काम अगाडी वढ्ने अपि हाईड्रो पावर कम्पनीका निर्देशक महेन्द्र न्यौपानेले बताए। उनले अहिले लगानीका लागि बैंकहरुसंग छलफल भईरहेको समेत जानकारी दिए। 

अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। कम्पनीले दशैँपछि निर्माण सुरु गरी तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजनाको लागत प्रतिमेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ।

विद्युत प्राधिकरण अफैँले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै ५३ करोड पुगेको थियो। माथिल्लो चमेलीया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास कम्पनीको छ।

नीजि क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाईड्रो पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनावाट विद्युत उत्पादनको अन्तिम तयारी गरिरहेको हो भने तेस्रो आयोजना निर्माणको प्रक्रिया पनि अघि वढाएको हो।
 

कमेन्ट लोड गर्नुस