निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
नेपालगञ्जः आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन्। दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन्।
जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले निर्वाचनको नियमन तथा अनुगमनसमेत गर्ने बताए। निर्वचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जिल्लामा देखिएका केही अप्ठेरो अवस्थाका विषयमा जिज्ञासा आएको र त्यसलाई सम्बोधन गरिएको जानकारी दिँदै राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताए।
निर्वाचनलाई भयरहित,मर्यादित बनाउन आचारसंहिता पालनमा जोड दिइएको उनको भनाइ छ। निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा आज निर्वाचन क्षेत्र नं. २ ले पनि सर्वदलीय बैठकको आयोजना गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए। सो सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि, स्वतन्त्रतर्फका उम्मेदवारलगायत सहभागी थिए। यसअघि निर्वाचन क्षेत्र नं. ३ को सर्वदलीय बैठक सपन्न भइसकेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा कूल तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन्। यसैबीच बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी छनोट भएका छन्। जनपथतर्फ दुई हजार १८८ र सशस्त्र प्रहरीतर्फ ३०३ जना छनोट भएको जिल्ला प्रहररी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन प्रहरीले सहयोग गर्ने छ।