चार दिनसम्म भोकभोकै मालिकको शव कुरेर बस्यो ‘शेरु’
हिमाचल प्रदेश: चम्बा जिल्लामा १९ वर्षीय विकसित राणा र उनका १३ वर्षीय भाइ पीयूष हिमआँधीमा परेर मृत्यु भएका छन्। दुःखद घटनामा एउटा वफादार जनावरको कथा सबैको मन छुने भएको छ।
दाजुभाइहरू भरमाणी माता मन्दिर नजिकका पहाडहरूमा भिडियो बनाउन चढेका थिए। अचानक मौसम बिग्रिएर चलेको बर्फीला आँधी र तीव्र चिसोका कारण उनीहरू जीवन गुमाए। धेरै दिनसम्म सम्पर्कविहीन भएपछि ड्रोन र हेलिकप्टरको सहयोगमा उद्धार टोली घटनास्थल पुगेको थियो।
त्यहाँ दुई दाजुभाइको निधन भइसकेको थियो, तर उनीहरूको घरको कुकुर ‘शेरु’ भने आफ्ना मालिकलाई छोडेर कतै गएको थिएन। चिसो र हिउँमा केही नखाई-नपिई शेरुले मालिकको निर्जीव शरीरको रक्षा गरेर बसिरह्यो। उद्धारकर्मीहरूले उसलाई बोलाए पनि शेरु त्यहाँबाट हटेन। अत्यधिक चिसो र हिउँमा दाजुभाइको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।
सोमसामाजिक सञ्जालमा भाइरल भिडियोमा, शेरुको वफादारीले संसारलाई स्तब्ध बनाएको छ। खेल्दै रमाइरहेका दुई सन्तानको असामयिक बिदाइ र शेरुको निस्वार्थ प्रेमले चम्बाका पहाडहरूमा अविस्मरणीय कथा गढेको छ।