सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जनताका गुनासा र सुझाव सङ्कलन गर्दै नेपाली कांग्रेस

२०८२ माघ १४, ०२:५१ खबर संवाददाता

धनगढीः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता नरनारायण शाह (मनु) ले आगामी चुनावका एजेन्डा, गुनासो तथा सुझाव सङ्कलन सुरु गरेका छन्।  

निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै सुझाव सङ्कलनमा लागेका हुन्। स्थापना गरिएका सम्पर्क कार्यालयलाई निर्वाचन अवधिभर जनताको गुनासो, सुझाव र अपेक्षा सङ्कलन गर्ने केन्द्रका रूपमा प्रयोग गरिने उम्मेदार शाहले बताए।

निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउनु सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको बताउँदै शाहले चुनावी प्रतिस्पर्धाका नाममा आरोप प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्नसमेत आग्रह गरे।  

धनगढी उपमहानगरपलिकाका १९ वडा र  कैलारी गाउँपालिकाका ६ र ९ गरेर कैलाली ५ मा २१ वडा रहेका छन् । जसमा  उम्मेदवार शाहले सोमबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकै चरणमा सम्पर्क कार्यालय स्थापना गरेका थिए।    
 

कमेन्ट लोड गर्नुस