सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वास नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८२ माघ १४, ०१:३२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको दक्षिणी भेगमा रहेको पुनर्वास नगरपालिकामा रोजगार सेवा केन्द्रद्वारा स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पुनर्वास नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पुनर्वास नगरपालिकाका ११ वटै वडाबाट वैदेशिक रोजगारीबाट फर्किएका प्रत्येक वडाका चार–चार जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रिया गर्दै वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका कठिनाइ, विदेशमा काम गर्दा देखिएका समस्या तथा स्वदेश फर्किएपछि पुनःस्थापनाका क्रममा सामना गर्नुपरेका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभव साझा गर्दै नीति तथा कार्यक्रमहरू व्यावहारिक र परिणाममुखी हुनुपर्ने सुझाव दिएका थिए। उनीहरूले सीपअनुसारको रोजगारी, सहुलियतपूर्ण कर्जा तथा लक्षित कार्यक्रमको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा पुनर्वास नगरपालिकाका अधिकृत तथा योजना शाखा प्रमुख शंकर बोगटीले संघीय सरकारको वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुनर्स्थापना तथा सीप उपयोगसम्बन्धी नीति र सुदूरपश्चिम प्रदेश सरकारको रोजगार तथा उद्यमशीलता प्रवर्द्धन कार्ययोजनासँग समन्वय गर्दै आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे।

उनले सीपअनुसारको रोजगारी, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख रानाले संघीय संरचना अनुरूप स्थानीय तहलाई प्राप्त अधिकारको प्रयोग गर्दै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको पुनर्स्थापनाका लागि नीतिगत तथा कार्यक्रमगत पहललाई प्रभावकारी बनाइने उल्लेख गरिन्। उनले प्रदेश र संघीय सरकारसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम तथा उद्यम विकासका कार्यक्रम स्थानीय तहमा कार्यान्वयन गरिने स्पष्ट पारिन्। साथै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका समस्याप्रति नगरपालिका संवेदनशील रहेको र आवश्यक पहल गरिने जनाइन्।

यस अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सञ्जाल गठन गरिएको छ। पुनर्वास नगरपालिका वडा नं। ४ निवासी सोमप्रसाद पुडासैनीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा पुनर्वास वडा नं। ३ निवासी तारा तामाङ, सचिवमा वडा नं। ८ निवासी सुरज सुनार र कोषाध्यक्षमा वडा नं। ११ निवासी तारानाथ न्यौपाने चयन गरिएका छन्।

त्यसैगरी सदस्यमा पुनर्वास नगरपालिका वडा नं। १ निवासी राजेश राना, वडा नं। ७ निवासी वीरबहादुर तामाङ र वडा नं। ५ निवासी तर्क रोकाया रहेका छन्।

कार्यक्रमलाई सामी कार्यक्रमका इकाई प्रमुख विष्णु अर्यालले सहजीकरण गरेका थिए भने पुनर्वास नगरपालिकाकी रोजगार संयोजक शुसीला देउबा र रोजगार सहायक लक्ष्मण भट्टले सहजीकरणमा सहयोग पुर्‍याएका थिए।

नगरपालिकाले स्थानीय तहको रोजगार शाखाको समन्वय र सहकार्यमा गठन गरिएको यस सञ्जालमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको हकहित संरक्षण, पुनर्स्थापना तथा दिगो रोजगारी सिर्जनाका लागि नीतिगत समन्वय र कार्यान्वयनलाई प्रभावकारी बनाउने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस