महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर विमान दुर्घटना
बारामती: भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर विमान बारामतीमा दुर्घटनाग्रस्त भएको छ। बुधबार बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ उडेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो।
अजित पवारका एक नजिकका सहयोगीका अनुसार बारामती विमानस्थल नजिकै भएको दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्। उनी जिल्ला परिषद् निर्वाचनका सन्दर्भमा आयोजित एक जनसभालाई सम्बोधन गर्न बारामती जाँदै थिए। विमानमा उनका केही सुरक्षाकर्मी तथा उच्च अधिकारीहरू पनि सवार रहेको जनाइएको छ।
अवतरणका क्रममा भएको ‘क्र्यास ल्यान्डिङ’पछि घटनास्थलका तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। सार्वजनिक दृश्यहरूमा विमान पूर्ण रूपमा क्षतिग्रस्त देखिन्छ भने घटनास्थलमा ठूलो संख्यामा मानिसहरूको भिड जम्मा भएको छ।
न्यूज एजेन्सी एएनआईका अनुसार दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। हालसम्म सरकार वा अस्पतालको तर्फबाट पवारको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर प्रत्यक्षदर्शी र सहयोगीहरूको भनाइअनुसार उपमुख्यमन्त्री पवारको अवस्था चिन्ताजनक रहेको बताइएको छ।