सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुराका मतदाताले ३४ वर्षपछि पाए नयाँ अनुहार

२०८२ माघ १३, ०४:१३ खबर संवाददाता

डडेलधुराः  वि.सं २०४८ देखि निरन्तर उम्मेदवार भएर सात पटक निर्वाचन जित्न सफल नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार नबन्ने भएपछि डडेलधुराका मतदाताले ३४ वर्षपछि नयाँ अनुहारका उम्मेदवारलाई मतदान गर्ने अवसर पाएका छन्। मनोनयन दर्ताको एक दिनअघि मात्रै देउवा उम्मेदवार नबन्ने जानकारी सार्वजनिक भएको थियो। 

देउवा उम्मेदवार नबनेपछि नेपाली कांग्रेसबाट नेता नैनसिंह महर उम्मेदवार बनेका छन्। महर कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्। 
उनसिंगै नेकपा (एमाले) बाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ताराप्रसाद जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायतसहित १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेही २०७४ सालको निर्वाचनमा राष्ट्रिय सभा सदस्य रहेका थिए। २०७९ को निर्वाचनमा पार्टीले नेपाली कांग्रेससँग गठबन्धन गरेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। देशमा लोकतन्त्र जोगाउन, अराजकता अन्त्य गर्न र समृद्धि हासिल गर्न आफू उम्मेदवार बनेको उनको भनाइ छ। एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले डडेलधुराले पाँच पटक प्रधानमन्त्री पाएको भए पनि जनअपेक्षित विकास हुन नसकेको बताए। जिल्लाको समग्र विकासका लागि आफू उम्मेदवार बनेको उनको भनाई छ। जनताका माग सिंहदरबारसम्म पुर्याउने र शासन प्रणालीमा देखिएका बेथितिलाई जनतासमक्ष ल्याएर सुशासन कायम गर्ने योजना रहेको उनले बताए। डडेलधुरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य आफूले लिएको उनको भनाई छ। 

पूर्वसभापति देउवा २०४८ सालमा पहिलो पटक निर्वाचित भई गृहमन्त्री बनेका थिए भने त्यसपछि पाँच पटक प्रधानमन्त्रीसमेत भए। पहिलो निर्वाचनपछि उनले डडेलधुराबाट कहिल्यै पराजय भोग्नुपरेन। तत्कालीन विद्रोही माओवादी मूलधारमा आएर देशभर प्रभाव बढाउँदा पनि डडेलधुरामा भने देउवालाई पराजित गर्न सकेन।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका खगराज भट्टसँग प्रतिस्पर्धा हुँदा भट्टका करिब दुई हजार मत बदर भएपछि देउवा एक हजार पाँच मतान्तरले विजयी भएका थिए। त्यसअघि र पछिका निर्वाचनमा पनि देउवा प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मत ल्याउँदै विजयी हुँदै आएका थिए। 

देउवा सुदूरपश्चिमका राजनीतिक खम्बाका रूपमा परिचित रहेका छन्। उनि प्रधानमन्त्री भएपछि कर्णाली नदीमा मोटरेबल पुल निर्माण भई सुदूरपश्चिम क्षेत्र देशको राजधानी काठमाडौंसँग जोडिएको दाबी गर्दै आएका छन्। कर्णाली पुलसहित महेन्द्र राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा २२ वटा पुल निर्माण भएको उनको भनाई थियो। 

यद्यपि देउवा राजनीतिको केन्द्रमा रहँदा पनि बहुचर्चित पञ्चेश्वर तथा पश्चिम सेती जलविद्युत् आयोजना निर्माण हुन सकेनन्। यी आयोजना, महाकाली कोरिडोर, सेती कोरिडोर, दैजीछेला औद्योगिक क्षेत्र तथा दोधारा–चाँदनी सुक्खा बन्दरगाहजस्ता ठूला योजनाहरू कार्यान्वयनमा आउन नसक्दा सुदूरपश्चिमवासी निराश देखिन्छन्। पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपिसीसँग सम्झौता भई हाल वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा रहेको छ।

डडेलधुराका सबै गाउँ सडक सञ्जालसँग जोडिएका छन्। जिल्लाका चार वटा प्रमुख सडक कालोपत्रे भइसकेका र केही सडक निर्माणको चरणमा रहेको कांग्रेस उम्मेदवार नैनसिंह महरले जानकारी दिए। देउवा प्रधानमन्त्री हुँदा २०५२ सालमा डडेलधुरामा पहिलो नगरपालिका अमरगढी नगरपालिका स्थापना गरिएको थियो।

डडेलधुरामा मेडिकल कलेज स्थापना भई दुई विषयमा अध्यापन भइरहेको, डडेलधुरा अस्पताललाई ३० शय्यामा स्तरोन्नति गरिएको तथा जोगबुढा अस्पताललाई ५० शय्यामा विस्तार गरिएकोलगायतका काम देउवाकै कार्यकालमा भएको महरको दाबी छ। हाल जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेका छन्।

भौतिक पूर्वाधार विकास कार्यालयका अनुसार जिल्लाभर हालसम्म १८ वटा खोलामा मोटरेबल पक्की पुल निर्माण भइसकेका छन् भने चार वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन्। तीमध्ये अधिकांश पुल परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको भित्रीमधेश क्षेत्रमा रहेका छन्। (गोरखापत्र)

कमेन्ट लोड गर्नुस