सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलाको ३ लाख ९ हजार, अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ कीर्तिमान

२०८२ माघ १२, ०२:४२ खबर संवाददाता

काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च हो।

आइतबार प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन उल्लेख्य रूपमा महँगिएको हो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदी सोमबार २८५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। पहिलो पटक सुनको मूल्य प्रति औंस ५ हजार अमेरिकी डलर नाघेको छ। बीबीसी अंग्रेजीका अनुसार सन् २०२५ को तुलनामा सुनको मूल्य करिब ६० प्रतिशतले वृद्धि भएको छ।

ग्रीनल्यान्डको विषयलाई लिएर अमेरिका र नाटोबीच बढ्दो तनाव, साथै विश्वव्यापी वित्तीय तथा भूराजनीतिक अनिश्चितताले सुनको मूल्य बढाएको विश्लेषण गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार नीतिहरूले पनि बजारमा चिन्ता बढाएको छ। हालै ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा १०० प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका थिए।
 

कमेन्ट लोड गर्नुस