कैलालीको ४ निर्वाचन क्षेत्रमा पूर्वमन्त्री र नयाँ अनुहारबीच प्रतिस्पर्धा
धनगढी: कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्वमन्त्रीहरूसँग प्रतिस्पर्धा गर्न नयाँ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।
पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामध्ये चार निर्वाचन क्षेत्रमा एक–एक जना पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दै छन्।
कैलाली–१ मा नेपाली कांग्रेसले पूर्वराज्यमन्त्री जनकराज चौधरीलाई उम्मेदवार बनाएको छ। २०७० सालको निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार बनेका चौधरीले ११ हजार २९४ मत ल्याई सोही क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
कैलाली–१ मा चौधरीले नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डङ्गौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। यी सबै उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन्।
त्यस्तै, क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) ले पूर्वमन्त्री गौरीशङ्कर चौधरीलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा तत्कालीन माओवादीबाट निर्वाचित चौधरी कृषि तथा पशुपन्छी तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका छन्। दुई पटक मन्त्री भइसकेका चौधरीलाई यस पटक नेपाली कांग्रेसका भीम बडुवाल, नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरी, नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीलगायत उम्मेदवारले चुनौती दिइरहेका छन्।
यस्तै, कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का पूर्वमन्त्री लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्। सो क्षेत्रबाट पटक–पटक उम्मेदवारी पाउँदै आएका भट्ट यसअघि संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी वाणिज्य तथा आपूर्ति मन्त्री तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यस निर्वाचनमा भट्टले नेपाली कांग्रेसका गोरखबहादुर विष्ट (आनन्द) र नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। २०७९ सालको निर्वाचनमा भने भट्ट नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए।
कैलाली क्षेत्र नम्बर ५ मा नेकपाबाट पूर्वमन्त्री प्रेम आले चुनावी मैदानमा छन्। २०७४ सालको निर्वाचनमा डोटीबाट निर्वाचित आले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए। कांग्रेस र एमालेले आलोपालो चुनाव जित्दै आएको यस क्षेत्रमा यस पटक दुवै पार्टीले नयाँ उम्मेदवार अघि सारेका छन्। नेपाली कांग्रेसबाट नरनारायण शाह ‘मनु’, नेकपा (एमाले) बाट यज्ञराज ढुङ्गाना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबहादुर चन्द उम्मेदवार बनेका छन्। रानाथारू समुदायको निर्णायक मत रहेको यस क्षेत्रमा सोही समुदायका प्यारेलाल राना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्। २०७९ सालको निर्वाचनमा यो क्षेत्र नेपाली कांग्रेसले जितेको थियो।