कैलालीको बर्दगोरियामा अज्ञात समूहद्वारा परालका टौवामा आगजनी
घोडाघोडी: कैलालीको बर्दगोरिया गाउँपालिका –३ रानीकुण्डास्थित कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको परालको टौवामा शुक्रबार बिहान अज्ञात समूहले आगजनी गरेको छ ।
बिहान ५ बजे आगो लागेको थाहा पाएपछि गाउँलेको सहयोगमा आगो निभाइएको थियो । डेढ विघा खेतको पराल जलेर खरानी भएको चिन्ता भन्दा पनि गाउँको टौवामा यसरी आगजनी गर्नेलाई पत्ता लगाउन नसक्नु चिन्ताको विषय भएको विश्वकर्माको भनाइ छ।
विश्वकर्माले भने, “योसहित गाउँमा आगलागीका घटना १५ वटा पुग्यो । रातिको समयमा सबै सुतेपछि आगलागी हुने भएकाले प्रहरी प्रशासनले अनुसन्धान गर्नुपर्छ ।”
गत कात्तिक २७ गते सोही गाउँको लालसिंह विश्वकर्माको घरनजिकै रहेको परालमा आगजनी भएको उहाँले बताउनुभयो । गाउँमा अरुको परालको टौवा, गोठमा समेत आगो लगाउने काम भएको उनले बताए।
रानीजरुवा सामुदायिक वनको अध्यक्षसमेत रहेका विश्वकर्माले गाउँमा नियमित आगलागीका घटनाले अशान्ति त्रास बढेको बताए। उनले भने, “सुरुमा मेरो घरनजिकै रहेको परालको टौवामा राति १२ बजे आगो लगाएका थिए । मेरो घरबाट सुरु भएको आगलागीका घटना बढ्दैगएको छ । हामी धेरै चिन्तामा छौ।”
रानीकुण्डा गाउँकै पत्रकार टिकाराम साउँद, स्थानीय रबी कुँवर, चक्रबहादुर बिक, लालसिंह विक, उदय तिरुवा लगायतको परालमा आगो लगाइएको छ ।
रानीकुण्डा गाउँमा एकै दिन आठ ठाउँमा आगलागि भएको स्थानीयको भनाइ छ । ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले पुस २२ गते रानीकुण्डा गाउँमा आठ ठाउँको परालमा आगलागी भएको जानकारी आएको बताएका छन् ।