सशस्त्र प्रहरी बल नेपालको २५ वर्षे गौरवपूर्ण यात्रा पूरा, रजत महोत्सव विशेष समारोह आयोजना
काठमाडौँः ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नाराका साथ राष्ट्र र जनताको सेवामा समर्पित सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको छ। यस अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, अत्तरियामा रजत महोत्सव विशेष समारोह आयोजना गरिएको छ, जसमा प्रमुख अतिथिका रूपमा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप कुमार पाल सहभागी थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका अधिकारी र पूर्व अधिकारीहरुको समेत सहभागिता रहेको थियो।
देशमा शान्ति, सुरक्षा र जनताको जीउ–धन तथा स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यसहित विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बल नेपालको विधिवत स्थापना गरिएको थियो। तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सिफारिसअनुसार त्यसबेलाका राजा वीरेन्द्रबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएपछि सशस्त्र प्रहरी बल गठन भएको हो।
स्थापनाकालमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी संगठन निर्माण गरिएको थियो। प्रारम्भमा महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा प्रधान कार्यालय स्थापना गरिएको थियो। सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए। संस्थापक महानिरीक्षक श्रेष्ठले विसं २०५९ माघ १२ गते प्रातकालीन भ्रमणका क्रममा गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए। सो घटनामा उनकी धर्मपत्नी नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले पनि साहदत प्राप्त गरेका थिए।
तत्कालीन सरकारले सशस्त्र प्रहरी बललाई सशस्त्र सङ्घर्ष, विद्रोह, पृथकतावादी तथा आतङ्ककारी गतिविधि नियन्त्रणलगायत १३ वटा कार्यादेश सुम्पिएको थियो। पछिल्ला वर्षहरूमा राजस्व, भन्सार, औद्योगिक तथा रेल्वे सुरक्षाजस्ता जिम्मेवारीसमेत थपिँदै आएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार २५ वर्षे यात्रामा संगठनले संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा उल्लेखनीय प्रगति गरेको छ। हाल सशस्त्र प्रहरी बल सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता तथा विपद् व्यवस्थापनमा भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित भएको छ।
विसं २०६१ मङ्सिर १ गतेदेखि प्रमुख भन्सार नाकाहरूको सुरक्षा जिम्मेवारी पाएको सशस्त्र प्रहरीले विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ। हाल सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २१५ वटा बीओपीमार्फत सीमा सुरक्षाका साथै राजस्व सङ्कलनमा सहयोग गर्दै आएको छ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन हुँदै आएको छ, जसअन्तर्गत सरसफाइ, बाटोघाटो स्तरोन्नति, विकास निर्माण, सचेतनामूलक कक्षा, स्वास्थ्य शिविर तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।
विपद् व्यवस्थापनमा समेत सशस्त्र प्रहरीले आफूलाई सक्षम सुरक्षा फौजका रूपमा स्थापित गरेको छ। दक्ष जनशक्ति उत्पादनका लागि विसं २०६८ मङ्सिर २२ गते चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय र मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिएको छ।