सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै

२०८२ माघ ८, ०१:२८ रासस

कञ्चनपुरः कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ।
     
जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र आय वृद्धि गर्ने उद्देश्य राखिएको छ।जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई न्यूनीकरण गर्दै वातावरण अनुकूल र दीगो कृषि पद्दतिको विकास गरिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषिप्रसार निर्देशक हरिप्रसाद पनेरुले बताए।

उनका अनुसार जलवायु अनुकूल पद्धति अनुसार खेती प्रणालीको विकास गरी किसानको उत्पादन क्षमता, आयस्तर र आत्मनिर्भरता बढाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिँदै छ। निर्देशक पनेरुले भने, 'जलवायु अनुकूलखेती प्रणाली विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो, एक पालिकाको एक टोलमा जैविक खेती पद्धति अपनाएका किसानको प्रस्ताव र कार्यक्रमको सोच मिलेमा त्यस्ता प्रस्ताव छनोट गरी कार्यक्रम सञ्चालन गर्छौं।'

कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल खेतीमा केन्द्रित रहेर जलवायुमैत्री प्रविधिको प्रयोग गरिनेछ । तरकारी खेतीतर्फ जलवायुमैत्री पोलीहाउस निर्माण, थोपा सिँचाइ प्रविधि, मल्चिङ प्रविधि, गड्यौला मल उत्पादन, झोलमल प्रयोग, बजारीकरण तथा तरकारी खेतीसम्बन्धी अन्य सहायक क्रियाकलाप सञ्चालन गरिने छन् ।
 
यी प्रविधिले पानीको खपत घटाउनुका साथै उत्पादन लागत कम गर्ने र मौसमजन्य जोखिमबाट खेती जोगाउन सहयोग पुग्ने निर्देशक पनेरुको भनाइ छ। फलफूल खेतीअन्तर्गत थोपा सिँचाइ प्रणाली जडान, बगैँचा व्यवस्थापन, नयाँ बगैँचा स्थापना तथा उत्पादन वृद्धि गर्ने प्रविधि लागू गरिनेछन्। दीर्घकालीन रूपमा फलफूल खेतीलाई व्यावसायिक बनाउँदै किसानको स्थायी आम्दानी सुनिश्चित गर्ने निर्देशक पनेरुले जानकारी दिए।

जलवायुमैत्री कृषि गाउँ स्थापना कार्यक्रम एउटै क्लष्टर वा एउटै क्षेत्रमा सञ्चालन गरिने प्रावधान राखिएको छ। यसले सामूहिक खेती, सामूहिक लगानी, प्रविधिको प्रभावकारी प्रयोग र सामूहिक बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। 
साथै किसानबीच सहकार्य बढ्दै स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। यस वर्ष जलवायूमैत्री कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको निर्देशक पनेरुले जानकारी दिए।

मापदण्ड पूरा भएका प्रस्तावलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिनेछ। हाल प्रस्ताव सङ्कलनको कार्य अगाडि बढाइएको छ। कृषि विज्ञका अनुसार जलवायुमैत्री कृषि अभ्यासले वातावरण संरक्षणसँगै किसानलाई जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगाउने महत्वपूर्ण भूमिका खेल्छ। रासायनिक मल र विषादीको प्रयोग घट्दै जाँदा माटोको उर्वराशक्ति जोगिनुका साथै पानी र मानव स्वास्थ्यमासमेत सकारात्मक प्रभाव पर्ने बताइएको छ।

आधुनिक प्रविधि, जैविक मल र वातावरणमैत्री अभ्यास अपनाउँदा उत्पादन बढ्नुका साथै बजारमा गुणस्तरीय उत्पादनको मागसमेत बढ्ने बताइएको छ। जलवायुमैत्री कृषि गाउँ स्थापना भएपछि कञ्चनपुरको कृषि क्षेत्र दीगो, व्यावसायिक र जलवायु अनुकूल बन्ने अपेक्षा गरिएको छ। 

एक ठाउमा गरिएको अभ्यासले अन्य क्षेत्रका किसानले त्यस पद्धतिलाई अपाउन प्रेरणा प्रदान गर्ने शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढा ऐरले बताउ। जलवायुको असर प्रत्यक्ष रुपमा कृषि क्षेत्रमा पर्दै आएकाले वातावरण अनुकूलखेती गरिँदा किसान लाभान्वित हुने उद्दको भनाइ रहेको छ।
 

कमेन्ट लोड गर्नुस