जेन्हेदार तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
कैलाली: कैलाली जिल्लाको चुरे गाउँपालिका–१, सिमलीस्थित श्री भैरौं आधारभूत विद्यालयमा अध्ययनरत जेन्हेदार तथा अति विपन्न वर्गका ४० जना विद्यार्थी छात्र–छात्रा लाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ।
शैक्षिक सहयोग अन्तर्गत कापी र पेन्सिल वितरण कार्यक्रम श्री मनोज साउँदज्यूको सहयोगमा सम्पन्न भएको हो। हाल कर्मभूमि युएईमा रहेका मनोज साउँदले विद्यार्थीहरूलाई शिक्षामा ध्यान केन्द्रित गर्न प्रेरित गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गरेका हुन्।
कार्यक्रमका सञ्चालक गुणाकर भट्ट कार्यक्रमको सुरुवात गरेका थिए भने कार्यक्रमको अध्यक्षता पदम बहादुर धामीज्यूले गरेका थिए। प्रमुख अतिथिका रूपमा चुरे गाउँपालिका–१ का वडा सदस्य हिक्मत बोहरा तथा विशिष्ट अतिथिका रूपमा वडा नम्बर २ का सदस्य बर बहादुर साउँदको उपस्थिति रहेको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, निवर्तमान प्रधानाध्यापक, शिक्षकहरू, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि यस्ता सहयोग कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति धन्यवाद ज्ञापन गरेका थिए।