प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु
काठमाडौँः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ।
निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि बेलुकी ५ बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकिएको जानकारी दिए। बेलुकी ५ बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने पनि उनले सुनाए।
सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ। आज बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उनले सुनाए।
माघ ६ गते बिहान १ देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ। माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ। माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।
माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।