बनियाँद्वारा प्रदेशसभा सदस्य पदबाट राजीनामा
रुपन्देहीः लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्। २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसमक्ष राजीनामा पत्र बुझाएको उनले जानकारी दिए। राजीनामा दिएका बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने जानकारी दिए। 'पदमा हुँदा लुम्बिनी प्रदेश र सम्पूर्ण मर्चवारवासीको हितमा इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु,' उनले भने।