सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालीकोटमा बोलेरो जिप दुर्घटना: तीन जनाको मृत्यु, एक बेपत्ता

२०८२ माघ ३, १२:३७ खबर संवाददाता

कालीकोट: कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। सेरी–पान्तडी सडकखण्डमा शुक्रबार साँझ करिब ६ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार दुर्घटनाग्रस्त बोलेरो जिप सेरी–पान्तडी सडकखण्डका ठेकेदार निर्माण व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप थियो। जिप सडकबाट करिब ३ सय मिटर तल तिला नदीको किनार नजिक खसेको छ।

तिला नदीको किनारमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शेरीघाटबाट प्यासेफिक एण्ड शर्मिला कन्स्ट्रक्शनका लागि डिजेल बोकेर पान्तडीतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा दैलेख जिल्ला आठबीस नगरपालिका साईगाउँका जेसीबी अपरेटर शंकर कठायत, अछाम जिल्लाका जेसीबी अपरेटर देपेन्द्र शाही र कालीकोट शुभकालिका गाउँपालिका–२ भर्ताका जेसीबी हेल्पर नवराज शाही रहेका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख खत्री र प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल रातिनै घटनास्थल पुगेका थिए। रातिको समय र भिरालो भूगोलका कारण बेपत्ता व्यक्तिको खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जिपको पछाडिको भागका दुई वटा टायर र ढाला भाँचिएको अवस्थामा फेला परेका छन्। हाल खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस