सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

२०८२ माघ ३, १२:२३ खबर संवाददाता

काठमाडौं: भारत र श्रीलंकामा आगामी फेब्रुअरीरमार्चमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली क्रिकेट टोलीको औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यान शनिबार एक कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो।

विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले टोलीलाई आज नै बिदाइ गरिएको क्यानले जनाएको छ। नेपाली टोली आइतबार प्रस्थान गर्नेछ।

बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै खेलाडी र व्यवस्थापन टिमलाई शुभकामना दिए। उनले भारतमा नेपाली समर्थकहरूको साथ रहने अपेक्षा पनि व्यक्त गरे।

टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए। अभ्यासबाट राम्रो आत्मविश्वास बनेको उल्लेख गर्दै उनले यस वर्ष पनि नेपाली क्रिकेटका लागि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।

प्रशिक्षक स्टुअर्ट लले अभ्यासमार्फत अन्तिम तयारी पूरा गर्ने र विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली समर्थकलाई खुसी दिने प्रतिबद्धता जनाए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि तयारी राम्रो देखिएको भन्दै टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यसअघि नेपालले श्रीलंकामा श्रीलंका ‘ए’ र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ। विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस