सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

२०८२ माघ २, १२:१५ खबर संवाददाता

धनगढीः निरन्तर सात वर्षसम्म न्यायको खोजीमा प्रहरी र अदालत धाएकी अछामकी एक महिलाको दुःखद निधन भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी ३८ वर्षीया जानकी धमलाले न्याय नपाएको पीडा र आफूले भोगेका मानसिक यातनाबारे सामाजिक सञ्जालमा स्टाटस लेखेपछि जीवन त्यागेको परिवारजनले बताएका छन्।

जानकीले सात वर्षदेखि प्रहरी, वडा कार्यालय, स्थानीय न्यायिक समिति, जिल्ला अदालत र उच्च अदालतसम्म पुगेर न्याय खोजिरहेकी थिइन्। तर लामो समयसम्म न्याय नपाउँदा उनी गहिरो मानसिक तनावमा परेकी थिइन्। सामाजिक सञ्जालमा लेखिएको स्टाटसमा उनले परिवारको अस्वीकार, सामाजिक बहिष्कार र कानुनी प्रक्रियाप्रतिको निराशा व्यक्त गरेकी छन्। छोराछोरीबाट टाढा पारिएको पीडाले आफूलाई झन् एक्लो बनाएको उल्लेख उनले गरेकी थिइन्।

जानकीका श्रीमान् चन्द्र ढकाल रोजगारीका लागि भारतमा बस्दै आएका थिए। सात वर्षअघि उनले दोस्रो विवाह गरेको थाहा पाएपछि जानकी न्याय खोज्दै सदरमुकाम मंगलसेन पुगेकी थिइन्। सोही घटनापछि सुरु भएको उनको संघर्ष विभिन्न निकायमा अल्झिँदै लामो समयसम्म चलिरह्यो। करिब तीन वर्षअघि बहुविवाहसम्बन्धी मुद्दा अछाम जिल्ला अदालतमा दर्ता भए पनि प्रमाण नपुगेको भन्दै फैसला जानकीको विपक्षमा आएको थियो, जसले उनको मनोबल झन् कमजोर बनाएको आफन्त बताउँछन्।

पछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बहुविवाह भएको ठहर गर्‍यो र श्रीमान् तथा उनकी कान्छी श्रीमतीलाई सजाय सुनायो। सजाय बराबरको रकम तिरेपछि श्रीमान् जेल नबसी बाहिरिए। तर त्यसपछि जानकीको जीवन झन् असुरक्षित बन्दै गएको परिवारको भनाइ छ। उनी पटक–पटक मंगलसेनस्थित सेफ हाउसमा पीडितका रूपमा बस्न बाध्य भइन्, जहाँ उनले सिलाइकटाइ सिकिन् र मनोपरामर्श पनि लिइन्।

अदालतको फैसलापछि श्रीमान्ले सम्बन्धविच्छेदको मुद्दा दायर गरे। प्रेम विवाह गरेकी जानकी सम्बन्धविच्छेद चाहँदिनथिन् र परिवारको साथ खोजिरहेकी थिइन्। तर छोराछोरीसँग भेटघाटमा रोक लगाइएपछि उनी गहिरो पीडामा परिन्। यही अवस्थाले उनलाई सबैभन्दा ठूलो चोट पुगेको आफन्तको भनाइ छ।

चन्द्र ढकालले जनाकीसँग प्रेम विवाह गरेका थिए। जानकीका तीन सन्तान छन्। चन्द्रले भारतमा अर्की महिलासँग विवाह गरेपछि जानकीलाई तनाव दिन थालेको जानकीका काका तथा कमलबजार नगरपिालिका वडा नम्बर ५ का अध्यक्षसमेत रहेका सत्यराज तिमिल्सेनाले बताए। 'श्रीमान्ले अर्को विवाह गरे, परिवारका अन्य सदस्यले पनि बेवास्ता गर्दै मानसिक तनाव दिएकाले जानकीले देहत्याग गर्ने निर्णयमा पुगेको फेसबुकमै लेखेकी छन्,' उनले भने, 'श्रीमान् र परिवारको शारीरिक र मानसकि तनाव झेल्न नसकेर यो निर्णयमा पुगेको देखिन्छ।'

जानकीको शव जिल्ला अस्पतालमा राखिएको छ। परिवारले दोषी पक्ष उपस्थित नभएसम्म शव नउठाउने अडान लिएको छ।

कमेन्ट लोड गर्नुस