सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको आरोप

वडा नम्वर ७ मा ७० लाखमा निर्माण गरिएको तटबन्ध, स्थानीयले पहिले नै निर्माण गरिएको तटबन्ध देखाएर रकम भुक्तानी गरिएको आरोप लगाएका छन्।
वडा नम्वर ७ मा ७० लाखमा निर्माण गरिएको तटबन्ध, स्थानीयले पहिले नै निर्माण गरिएको तटबन्ध देखाएर रकम भुक्तानी गरिएको आरोप लगाएका छन्।
२०७६ साउन २९, ०६:४६ खबर संवाददाता

संघीय सरकारले आर्थिक बर्ष २०७५/०७६ मा पठाएको ससर्त अनुदानको बजेटबाट कैलारी गाउँपालिकाले वडा नम्वर ९ मा सार्वजनिक शौचालय निर्माण गर्न साढे २७ लाख खर्च ग¥यो। कैलारी गाउँपालिकाले वडा नम्वर ९ मा निर्माण गरेको शौचालय जस्तै वडा नम्वर २ र ८ मा पनि सार्वजनिक शौचालय निर्माण गरेको छ।

तर अन्य दुई शौचालय सात÷सात लाखमा निर्माण गरेपनि वडा नम्वर ९ मा भने साढे २७ लाख खर्च गरेपछि अहिले वडा नम्वर ९ को शौचालय निर्माणमा घोटाला भएको भन्दै विरोध भईरहेको छ। वडा नम्वर ९ का अध्यक्ष खेमप्रशाद चौधरी नै शौचालय निर्माणमा अनियमितता भएको आशंका गर्दै आएका छन्। 

यस्तै प्रदेश सरकारको बजेटमा वडा नम्वर ९ र वडा नम्वर ७ मा क्रमस ७५ लाख र ७० लाखमा तटबन्धनको योजना कार्यान्वयन गरिएको छ। तर एउटै योजनामा २५ लाख सम्म घोटाला भएको भन्दै जनप्रतिनिधिहरुबाटै गुनासो आउन थालेको छ। कतिपय स्थानमा यसअघि नै सासंद विकास कोषबाट निर्माण भईसकेको तटबन्ध देखाएर समेत भुक्तानी लिएको देखिएको छ।

गाउँपालिकामा कार्यकर्ता पोस्ने मात्रै काम भएको कैलारी गाउँपालिकामा अध्यक्षमा पराजित उम्मेदवार राजसमझ चौधरीले बताए। ‘सबै स्थानमा उपभोक्ता समिति गुपचुपमै गठन गरिएको छ,’ उनले भने, ‘वरपरका वासिन्दालाई समेत जानकारी नदिएर समिति बनाईएकाले कार्यकर्ता पोस्ने मात्रै काम भएको छ।’ उनले गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको विकास बजेट समेत दुरुपयोग भएको आरोप लगाए। राजनीतिक आड र कमिसनको चलखेलका कारण कैलाली जिल्लाको कैलारी गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको आरोप उनको छ। 

कैलारी गाउँपालिकाले मात्रै गत आर्थिक बर्षमा १७ करोड बढि विकास बजेट खर्च गरेको छ भने प्रदेश सरकारको समेत गाउँपालिकामा धेरै बजेट गएको छ। विकास र समृद्धीका लागि गएको बजेटमाथि जनप्रतिनिधि, कर्मचारी मिलेर कुम्ल्याउन थालेको आरोप स्थानीयले गर्दै आएका छन्।

प्रदेश सरकारको बजेट धेरै दुरुपयोग भएको विषयमा त स्थानीय सरकार पनि आशंका गर्न थालेको छ। तर कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने प्रदेशले कार्यान्वयन गरेको बजेटमा गाउँपालिकाको कुनै संग्लनता नरहेको बताए। उनले गाउँपालिकाले कार्यान्वयन गरेको बजेटमा भने कुनै किसिमको दुरुपयोग नभएको दावी गरे।

कैलारी गाउँपालिकाले पाँच बर्षमा स्मार्ट गाउँपालिका बनाउने नारा बोकेको छ। त्यस्को दुई बर्ष वितिसकेको छ भने बाँकी तीन बर्षमा स्मार्ट बनाउनुपर्ने जिम्मेवारी रहेको छ। आएको बजेट दुरुपयोग हुँदै गए स्मार्ट बनाउने सपना भने अधुरै रहने सम्भावना रहेको स्थानीयको भनाई छ।
 

कमेन्ट लोड गर्नुस