सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु समुदायमा माघी, पहाडी बस्तीमा नरहरिको रौनक

२०८२ माघ १, ०१:१९ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरमा थारू बस्ती यतिबेला माघीको रौनकले झकिझकाउ बनेको छ। थारु समुदायको पहिचानसँग जोडिएको माघी उनीहरुको नयाँ वर्षसमेत हो। माघ १ गतेबाट थारू समुदाय राना थारू बाहेकले माघी पर्व अर्थात् माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्।

यस्तै सुदूरपश्चिमको पहाडी भेगमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाउने गरिन्छ। माघ १ गते सूर्य उत्तरायण प्रवेशसँगै थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्वलाई पहाडी समुदायले नरहरि, माघे संक्रान्तिका रुपमा मनाउँछन्। कैलाली र कञ्चनपुरमा भने माघी र नरहरि संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सव बनेको कञ्चनपुरको महेन्द्रनगरका जनमेजय जोशीले बताए। उनले कैलाली र कञ्चनपुरको बस्तीहरूमा माघी र नरहरिको रौनक छाएको बताए।

माघीको बिहानै थारु परिवारहरू नजिकको नदीमा पुगेर स्नान गर्छन्। चिसो मौसमका बाबजुद स्नानपछि पूजा–अर्चना गरी घरका ठूला–बडासँग आशिर्वाद लिने चलनले बस्तीभर आध्यात्मिक माहोल सिर्जना गर्छ। नयाँ वर्ष शुभ होस्, रोग–व्याधि टाढा रहोस् भन्ने कामनासहित थारू समुदायमा पितृ सम्झनामा तिलयुक्त कर्म गर्ने परम्परा रहेको धनगढी-४ का माइला चौधरीले बताए।

कञ्चनपुरको कृष्णपुरका रामकुमार चौधरीले माघीको दिन दिनभर घरघरमा विशेष परिकार पाक्ने बताएका छन्। उनले यो दिन चामल र मासको दालबाट बनेको खिचडी, माछा, मासु र स्थानीय परिकारले थाल सजिने बताएका छन्। उनले भने, 'थारूको माघीमा पहाडी समुदायको नरहरि मिसिँदा तराईको वातावरण नै उल्लासपूर्ण बनेको छ। थारूको माघीको पहिचान अझै फराकिलो बनेको अनुभूति हुन्छ। पाहुना सत्कार र आपसी भेटघाटले माघी र नरहरिले सामाजिक सम्बन्धलाई थप मजबुत बनाएको छ।

पहाडी समुदायमा साँझ पर्नासाथ आँगनमा मुढा बालेर धुनी जगाइन्छ। धुनी वरिपरि भेला भएका परिवारजन र छिमेकीहरू गीत, ठट्टा र पुराना सम्झनामा रमाउँछन्। पहाडी चिसोमा धुनीको न्यानोपनले केवल शरीर मात्र होइन, सम्बन्धलाई पनि न्यानो बनाएको देखिन्छ। माघीका पाँच दिनलाई थारु समुदायले स्वतन्त्रता र आत्मीयताको समयका रूपमा लिने गर्छन् भने पहाडी समुदायले भने उत्तरायण तथा वसन्त ऋतुको आवागमनको रुपमा नरहरि पर्वलाई लिने गर्छन्।

थारू समुदायमा माघी सामाजिक व्यवस्थापनको दिन पनि हो। यस अवसरमा गाउँका अगुवा, महतो, पुजारी, चौकीदारलगायत वर्षभर जिम्मेवारी वहन गर्ने व्यक्तिहरू आपसी सहमतिमा छनोट गरिन्छ। सहमति नजुटे लोकतान्त्रिक विधिबाट निर्णय गर्ने चलनले थारु समुदायको सामूहिक चेतना र परम्परागत शासन प्रणालीलाई जीवित राखेको छ।

माघी पर्वले नयाँ पुस्तालाई संस्कार सिकाउने अवसर दिएको छ भने पुराना पुस्तालाई आफ्नो जरा सम्झाउने माध्यम बनेको छ। पहाडी भेगमा मनाइने नरहरी र थारुको माघीको रौनकले कैलाली र कञ्चनपुरका बस्ती उल्लासमय बनेका छन्। जसले संस्कृति केवल भूगोलमा सीमित नभई जहाँ समुदाय बस्छ, त्यहीँ फस्टाउँछ भन्ने सन्देश दिएको छ।

यसरी सुदूरपश्चिमका बस्तीमा मनाइने माघी पर्व केवल नयाँ वर्षको उत्सव होइन, पहाड र तराईलाई जोड्ने सांस्कृति पनि बनेको छ।

थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाइने माघी पर्व केवल चाड मात्र नभई सांस्कृतिक पहिचान, सामाजिक एकता र स्वतन्त्रताको अनुभूतिको प्रतीक हो। सूर्य उत्तरायण प्रवेश गर्ने यस पावन दिनदेखि तराईका थारु बस्तीहरूमा पाँच दिनसम्म स्नान, दान, पूजा, खानपिन र रमाइलोका साथ माघी मनाइन्छ।

माघीको बिहानै थारु समुदायका मानिसहरू नजिकका नदी, पोखरी वा जलाशयमा गई स्नान गर्छन्। स्नानपछि पूजा–अर्चना गरी घरका ठूला–बडासँग आशिर्वाद लिने चलन छ। यो दिनलाई पवित्र र शुभ मानिने भएकाले धेरैले तीर्थ यात्रा गर्ने वा गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने परम्परा पनि रहेको छ।

माघीको साँझ घरआँगनमा ठूला मुढा बालेर ‘धुनी’ जगाइन्छ। धुनीको वरिपरि परिवारका सदस्य र पाहुना भेला भएर खानपिन, गीत–संगीत र रमाइलो गर्छन्। यस दिनदेखि पाँच दिनसम्म आफू स्वतन्त्र भएको अनुभूति गर्ने विश्वास थारु समुदायमा छ, जसले माघीलाई सामाजिक र मानसिक स्वतन्त्रताको पर्वका रूपमा पनि चिनाउँछ।

धार्मिक विश्वासअनुसार माघीका दिन श्राद्ध कर्म गर्न विशेष महत्व दिइन्छ। तिलसँग जोडिएका छ प्रकारका कर्म—तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन, तिल दान र तिल खानु—गरेमा जीवनमा असफलता नआउने जनविश्वास छ। तिलको तेल घस्दा शरीरको तापक्रम बढेर जाडो कम हुने वैज्ञानिक मान्यता पनि यससँग जोडिएको छ।

माघी पर्वको अर्को महत्वपूर्ण पक्ष सामाजिक व्यवस्थापन हो। यसै दिन गाउँका मुखिया, महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदारलगायत विभिन्न जिम्मेवारीका पदहरू आपसी सहमति वा लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट छनोट गरिन्छ। सहमति नहुने स्थानमा मतदानमार्फत पदाधिकारी चयन गरिन्छ, जसले थारु समुदायको सामूहिक निर्णय र लोकतान्त्रिक अभ्यासलाई उजागर गर्छ।

खानपिनको हिसाबले माघीमा चामल र मासको दालबाट बनाइएको खिचडी विशेष रूपमा खाने चलन छ। यही कारणले कतिपय स्थानमा माघीलाई ‘खिचडी पर्व’ पनि भनिन्छ। परम्परागत खानाले चाडलाई अझै आत्मीय र सामुदायिक बनाएको छ।

यसरी माघी पर्व थारु समुदायका लागि नयाँ वर्षको सुरुवात मात्र होइन, आफ्ना संस्कार, परम्परा र सामाजिक संरचनालाई पुनः स्मरण गर्ने अवसर हो। पुस्तौंदेखि चल्दै आएको यो पर्वले थारु समुदायको पहिचानलाई जीवित राख्दै आपसी सद्भाव र एकतालाई मजबुत बनाउँदै आएको छ।

माघे संक्रान्तिमा विभिन्न नदी किनार, त्रिवेणी र तीर्थस्थलमा माघी मेला, संक्रान्ति मेला र मकर मेला भनेर मेला लाग्ने गर्छ। कैलालीको गोदावरी, घोडाघोडी कर्णाली चिसापानी, कञ्चनपुरको महाकाली नदी, बम्हदेव, झिलमिला, वेदकोट, डडेल्धुराको पर्शुराम धाम, डोटीको बाइसधारा, बैतडीको पुर्चौडी त्रिवेणीधाम, पञ्चेश्वर, गोकुलेश्वर, दार्चुलाको तपोवन, बझाङको विजगडा, तातोपानी लगायतका क्षेत्रमा मकर मेला तथा मकर स्नान गर्ने चलन छ।

माघीको महत्व हिन्दु, बौद्ध र किराँत धर्ममा समान रुपले रहेको पाइन्छ। यो दिनलाई तीनै धर्मका मानिसले  विशेष रुपमा लिने गरेका छन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस