आज राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ: एघारौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गर्दै यसको संयोजनको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योग क्षेत्रमा कार्यरत संस्थाहरूको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो। वैदिक कालमा हिमालय क्षेत्रमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्दै गएको अवस्थामा पुनर्जागरणका लागि दिवस घोषणा गरी जनचेतना जगाउने कार्य सुरु गरिएको हो।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति, स्थिरता र आरोग्य प्राप्त हुने विश्वास थियो। आधुनिक युगको प्रभावमा यसलाई बिर्सिँदै गएका नेपालीहरू युरोप र अमेरिकामा उपचार तथा मानसिक शान्तिका लागि योगको प्रयोग बढ्दै गएपछि पुनः योगतर्फ आकर्षित हुन थालेका छन्।
आयुर्वेदलाई योगसँग जोड्ने उद्देश्यले विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो। त्यसैगरी विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी, दाङमा पनि योग अभ्यासमार्फत स्वास्थ्य लाभ गराउने काम सुरु गरिएको छ । स्वास्थ्य लाभ र मानसिक शान्तिका लागि योग अभ्यास गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा उत्पन्न हुने विविध वृत्तिलाई नियन्त्रण गर्नु नै योग हो भनिएको छ। त्यस्तै गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् नियमित योग अभ्यास गर्नेले कर्ममा कुशलता हासिल गर्न सक्ने उल्लेख गरिएको छ।
इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्त्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रका वनमा ऋषिमुनिले योग, ध्यान र तपस्याद्वारा गरेको उल्लेख छ।
योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकास हुँदै जाने योग क्षेत्रमा संलग्न व्यक्तिहरूको भनाइ छ। नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन–अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरेकालाई छ महिनाको योग तथा प्राकृतिक चिकित्साको तालिम दिइँदै आएको छ। जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिलाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तर पाठ्यक्रमसमेत स्वीकृत गरिएको विभाग प्रमुख डा। पोखरेलले बताए । स्वास्थ्य विषयमा स्नातक गरेका व्यक्तिलाई प्राथमिकता दिइए पनि अन्य विषयमा स्नातक पूरा गरेकाहरूले पनि स्नातकोत्तर तहमा अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ।
विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद समावेश गरे पनि यस विषयमा स्नातक जनशक्ति अभावका कारण प्रभावकारी रूपमा लागू हुन नसकेको उल्लेख गरिएको छ । केही विद्यालयमा सुरु भए पनि अपेक्षित प्रभाव देखिन सकेको छैन।
मानवभित्र रहेका सम्पूर्ण सम्भावनालाई उजागर गर्न सक्ने ज्ञान–विज्ञानलाई योग भनिन्छ। प्रारम्भिक कालमा योग सबैका लागि भए पनि मध्यकालमा दाह्री र कपाल पालेका वैरागी तथा साधु–सन्तका लागि मात्र भन्ने बुझाइ विकसित भएको थियो । हाल योग स्वास्थ्य, मानसिक शान्ति र खुसीसँग जोडिँदै आएको छ।
“मानिस जहाँ छ, त्यहीँबाट व्यवस्थित रूपमा अगाडि बढ्न सहयोग गर्ने माध्यम योग हो। यसले कार्यक्षमता बढाउँछ, त्यसैले पश्चिमी देशहरूले यसलाई जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्,” डा. पोखरेलले भने। योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञानसमेत समावेश रहेको उनले बताए। अमेरिकाका विभिन्न क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन–अध्यापन सुरु भइसकेको छ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो। यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरमा योग दिवसको मुख्य कार्यक्रम हुने जनाइएको छ।