अन्ततः फुट्यो काङ्ग्रेस
धनगढीः नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँचवर्षको लागि कारबाही गरेको छ ।
यता विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको छ ।
कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको हो । कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ । पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए । ‘मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो,’ थापाले भने ।
कांग्रेसको देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा अहिले विशेष महाधिवेशन गर्न नसक्ने अडान राख्दै आएको थियो । नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरेको थियो । तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूंले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए । तर नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुननसक्ने भन्दै संस्थापन पक्षले अडान लिएको थियो । विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमा व्यवस्था भएकाले यसलाई नजरअन्दाज गर्न नहुने अडान राखेका थिए ।
विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्र महाधिवेशन बोलाउनका लागि दिएको निवेदनको समयसीमा सकिने भएकाले जसरी पनि महाधिवेशन गरेरै छाड्ने अडान लिए । त्यो अडान अनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्यो । महाधिवेशन चलिरहँदा पनि पार्टीलाई विभाजनबाट जोगाउनका लागि भन्दै पटकपटक वार्ताका प्रयास भए । दुवै पक्षले वार्ता टोली बनाएर आफ्ना सन्देश आदानप्रदान गरे । तर दुवै पक्ष अडान नछोड्दा पार्टी विभाजनमा पुगेको हो ।