काँग्रेस संस्थापन पक्ष कानुनी परामर्शमा
काठमाडौँ: नेपाली काँग्रेसको संस्थापन पक्ष भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट नेतृत्व चयन भएमा त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा कानुनी परामर्शमा जुटेको छ।
नेपाली काँग्रेसका नेता वीरबहादुर बलायरका अनुसार विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेमा त्यसको वैधानिक प्रक्रिया, निर्वाचन आयोगमा दर्ता तथा अन्य कानुनी पक्षबारे शीर्ष नेताहरूले कानुनविद्हरूसँग छलफल थालेका हुन्।
बलायरले काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत संस्थापन पक्षका नेताहरू यस परामर्श प्रक्रियामा सक्रिय रूपमा संलग्न रहेको जानकारी दिए।
उनका अनुसार विशेष महाधिवेशनका निर्णयहरूलाई कसरी कार्यान्वयन गर्ने, निर्वाचन आयोगमा कसरी प्रस्तुत हुने तथा सम्भावित कानुनी जटिलताबाट जोगिने विषयमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेलगायत कानुनविद्हरूसँग संस्थापन पक्षले परामर्श सुरु गरेको हो।
विशेष महाधिवेशनका निर्णयहरूलाई वैधानिक र संस्थागत ढंगले अघि बढाउने उद्देश्यले यो परामर्श प्रक्रिया अगाडि बढाइएको नेताहरूको भनाइ छ।