सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन कैलाली प्रशासनको आग्रह

२०८२ पुष ३०, ०३:०२ खबर संवाददाता

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरू तोकिएको समयभित्र प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लाई निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय रूपमा सम्पन्न गर्न जिल्लाभित्र इजाजत प्राप्त सबै हातहतियार र खरखजानाहरू २०८२ माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा बुझाउनुपर्नेछ।

प्रहरी इकाइमा बुझाइएका हातहतियार तथा खरखजानाहरू निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीले पुनः फिर्ता पाउने व्यवस्था रहेको प्रशासनले जनाएको छ।

सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयले दिएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सबै सरोकारवालालाई प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार शान्ति सुरक्षा कायम राख्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन यो सूचना सार्वजनिक गरिएको हो।

कमेन्ट लोड गर्नुस