भावनात्मक सम्बन्ध र सहयोग मात्रले पति–पत्नी ठहर हुँदैन : सर्वोच्च अदालत
काठमाडौँः सर्वोच्च अदालतले महिला र पुरुषबीच चिनाजान, भावनात्मक सम्बन्ध, सहयोग, घुमफिर, आर्थिक लेनदेन वा उपचारमा साथ दिएको आधारमा मात्रै वैवाहिक सम्बन्ध कायम भएको ठहर गर्न नमिल्ने स्पष्ट व्याख्या गरेको छ। विवाह प्रमाणित हुन सामाजिक, धार्मिक वा कानुनी प्रक्रिया पूरा भएको हुनुपर्ने वा स्पष्ट दस्तावेजी प्रमाण आवश्यक हुने अदालतको निष्कर्ष छ।
भक्तपुरका चुडाबहादुर श्रेष्ठ र शान्ति चौधरीबीचको अंश विवादमा अदालतले शान्तिले मिर्गौला दान गरेको, विदेश भ्रमण, बैंक खातामा नाम राखिएको तथा केही कागजातमा पत्नी भनेर उल्लेख भएको तथ्यलाई वैवाहिक सम्बन्धको निर्णायक प्रमाण मान्न अस्वीकार गर्यो। विवाह दर्ताको प्रमाणपत्र नदेखिएको, अन्य व्यवहारहरू विवाह पुष्टि गर्न पर्याप्त नहुने भन्दै अदालतले नाता सम्बन्ध नै स्थापित नभएको ठहर गर्यो।
तीन सदस्यीय पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको फैसला बदर गर्दै शान्ति चौधरीले चुडाबहादुरबाट अंश पाउने अवस्था नरहेको निर्णय सुनायो। अदालतले एकै समयमा एउटी महिलाको दुई पति हुन नसक्ने र बिरामी अवस्थाका व्यक्तिबाट गराइएका कागजातलाई पूर्ण स्वस्थ अवस्थामा गरिएकोसरह मान्न नमिल्ने पनि स्पष्ट पारेको छ।