चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को समापन, हरेक वर्ष आयोजना हुने
धनगढीः 'ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह' भन्ने मूल भावका साथ चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय नजिर मियाँको प्रमुख आतिथ्यमा शुभारम्भ भएको महोत्सवको समापन आज साहित्यकार तथा सञ्चारकर्मी डाक्टर नवराज लम्सालको प्रमुख आतिथ्यमा गरिएको हो।
२२ गतेदेखि सुरु भएको महोत्सव २९ गतेसम्म निरन्तर सञ्चालन भएको थियो। महोत्सवमा चैतन्य पाठशालासहित विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। विद्यार्थीको सर्वाङ्गीण विकास, सृजनशीलता तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा शैक्षिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक तथा खेलकुदसम्बन्धी विविध कार्यक्रमहरू सम्पन्न भएका थिए।
महोत्सवअन्तर्गत कविता प्रतियोगिता, पुस्तक समीक्षा, वक्तृत्वकला, हाजिरी जवाफ, मुन डिबेट, स्क्रेबल, लघु चलचित्र निर्माण, चित्रकला प्रतियोगिता तथा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता, लामो दौड, छोटो दौड लगायतका खेलकुद गतिविधिहरू आयोजना गरिएका थिए। यी कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा, सृजनशीलता, टिमवर्क र प्रतिस्पर्धात्मक क्षमता प्रस्तुत गर्ने अवसर पाएका थिए।
कार्यक्रम शुभारम्भको दिनदेखि नै समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका प्रेरक व्यक्तित्वहरूलाई हरेक दिन फरक–फरक विधामा सम्मान गरिएको थियो। शिक्षा, स्वास्थ्य, साहित्य, कला–संस्कृति, खेलकुद, सामाजिक सेवा, उद्यमशीलता, युवा अभियान लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीमा सकारात्मक जीवन मूल्य र समाजप्रतिको जिम्मेवारी बोध गराउने उद्देश्य रहेको पाठशालाले जनाएको छ।
त्यसै गरी, महोत्सवका प्रत्येक दिन प्राज्ञिक बहस तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा विभिन्न क्षेत्रमा सक्रिय अनुभवी तथा वरिष्ठ व्यक्तित्वहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए। यसले विद्यार्थीमा समसामयिक विषयप्रति चासो, आलोचनात्मक दृष्टिकोण र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको निष्कर्ष रहेको छ।
समापन समारोहमा विशिष्ट अतिथिका रूपमा उपस्थित दमकडा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तथा एनआरएनए सद्भावना दूत ओजस्वी आचार्यले सुदूरपश्चिम क्षेत्रमा चैतन्य पाठशाला नमुना विद्यालयका रूपमा विकसित हुँदै गएको बताइन्। उनले चैतन्य पाठशालाले शिक्षा मात्र होइन, संस्कार, अनुशासन र नेतृत्व विकासलाई समेत समान महत्त्व दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गरिन्।
आचार्यले आफूले महोत्सवका विभिन्न गतिविधि अवलोकन गर्दा यहाँका विद्यार्थीहरूमा आत्मविश्वास, प्रस्तुति कला र सृजनशीलता निकै उच्च स्तरको देखिएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनमा ठुलो योगदान पुर्याउने धारणा राखिन्। उनले सुदूरपश्चिमजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा यस्तो स्तरको शैक्षिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्नु आफैँमा प्रेरणादायी काम भएको बताइन्।
उनले चैतन्य पाठशालाको व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थी सबैको संयुक्त प्रयासकै कारण यस्तो सफल कार्यक्रम सम्भव भएको भन्दै विद्यालय परिवारलाई बधाई तथा धन्यवाद व्यक्त गरिन् र भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक गतिविधिहरू निरन्तर सञ्चालन होउन् भन्ने शुभेच्छा व्यक्त गरिन्।
त्यस्तै समापन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल ले चैतन्य पाठशालाले आयोजना गरेको यस्तो महोत्सव सुदूरपश्चिमका लागि मात्र होइन, सम्पूर्ण देशकै लागि प्रेरणादायी अभ्यास भएको बताए।
उनले भने, 'विद्यालय भनेको केवल परीक्षा पास गराउने कारखाना होइन, यो समाजको चेतना निर्माण गर्ने प्रयोगशाला हो। चैतन्य पाठशालाले विद्यार्थीलाई सृजनशील, अनुसन्धानमुखी र समाजप्रति जिम्मेवार बनाउने दिशामा जुन अभ्यास गरिरहेको छ, त्यो अत्यन्त प्रशंसनीय छ।'
डाक्टर लम्सालले आजको पुस्तालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी कला, साहित्य, विज्ञान, बहस र खेलकुदजस्ता विविध क्षेत्रमा संलग्न गराउनु नै समग्र शिक्षा भएको उल्लेख गरे।
उनले थपे, 'आज यहाँ मैले देखेको आत्मविश्वास, अभिव्यक्ति क्षमता र बौद्धिक जिज्ञासा भविष्यका सक्षम नागरिकको सङ्केत हो। यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमतामाथि विश्वास गर्न सिकाउँछ।' सुदूरपश्चिमबाट राष्ट्रिय स्तरको नेतृत्व विकास गर्न यस्ता शैक्षिक अभ्यासले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उनले शिक्षक, अभिभावक र विद्यालय प्रशासनको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको पनि बताए।
कार्यक्रमका सभापति तथा शिक्षक अभिभावक संघ अध्यक्ष ईश्वर गिरीले महोत्सव सफलतापूर्वक सम्पन्न हुनुमा शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा स्थानीय समुदायको सक्रिय सहयोग रहेको बताए।
उनले भने, 'यो महोत्सव केवल विद्यालयको कार्यक्रम होइन, सम्पूर्ण अभिभावक र समाजको सामूहिक प्रयासको परिणाम हो। हामीले चाहेको शिक्षा केवल अङ्क र प्रमाणपत्रमा सीमित नभई व्यवहारिक, नैतिक र जीवनोपयोगी हुनुपर्छ।'
गिरीले भविष्यमा अझ व्यवस्थित, अझ व्यापक र अझ प्रभावकारी कार्यक्रमसहित महोत्सवलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै अभिभावकको सक्रिय सहभागिताले विद्यालयलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
समापन समारोहमा बोल्दै चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी ले चैतन्य पाठशालाले सुरु गरेको यो प्रयास केवल वार्षिक उत्सव मात्र नभई समाजमा सकारात्मक सोच, प्रतिभाको पहिचान र सेवा भावको प्रवर्द्धन गर्ने अभियानका रूपमा अगाडि बढाइने बताए। उनले सुदूरपश्चिममा शिक्षा, संस्कार र सृजनशीलताको केन्द्रका रूपमा चैतन्य पाठशालालाई स्थापित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
समापन समारोहमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै महोत्सव सफल बनाउन सहयोग पुर्याउने शिक्षक, कर्मचारी, स्वयंसेवक, अभिभावक, अतिथि तथा विभिन्न संघ–संस्थाप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको थियो ।
आयोजकका अनुसार चैतन्य दोस्रो विद्यार्थी महोत्सवले विद्यार्थीमा नेतृत्व, सहकार्य, सृजनशीलता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। विद्यालयले आगामी वर्षहरूमा अझ नयाँ आयाम थप्दै महोत्सवलाई थप व्यापक बनाउने योजना बनाएको जनाएको छ।