सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकामा साढे २७ लाखको शौचालाय, घोटाला भएको आशंका

२०७६ साउन २८, ०४:२८ खबर संवाददाता

कैलालीको कैलारी गाउँपालिकाले एउटै सार्वजनिक शौचालय निर्माणमा साढे २७ लाख खर्च गरेपछि स्थानीयले घोटाला भएको आशंका गरेका छन्। संघीय सरकारले पठाएको ससर्त अनुदानको बजेटबाट कैलारी गाउँपालिकाले वडा नम्वर ९ मा बनाएको शौचालयमा साढे २७ लाख खर्च गरिएपछि घोटाला भएको आशंका गरिएको हो।

कैलारी गाउँपालिकामा अध्यक्षमा पराजित उम्मेदवार राजसमझ चौधरीले साढे २७ लाख खर्च गरि निर्माण गरिएको शौचालयमा घोटाला भएको आरोप लगाए। ‘सामान्य शौचालय निर्माणकै लागि गाउँपालिकाले साढे २७ लाख भुक्तानी दिएको छ,’ उनले भने, ‘शौचालय हेर्दा त्यस्को आधा समेत खर्च भएको देखिन्न हामीले स्थानीयसंग कुरा गर्दा पनि गुपचुपमै उपभोक्ता समिति बनाईएको पाएका छौ।’ 

कैलारी गाउँपालिकाले वडा नम्वर ९ मा निर्माण गरेको शौचालय जस्तै वडा नम्वर २ र ८ मा पनि सार्वजनिक शौचालय निर्माण गरेको छ। तर अन्य दुई शौचालय सात÷सात लाखमा निर्माण गरेपनि वडा नम्वर ९ मा भने साढे २७ लाख खर्च गरेको हो। स्थानीयले अन्य वडामा सात लाखमै बनेको शौचालय वडा नम्वर ९ मा साढे २७ लाखमा निर्माण भएको भन्दै घोटाला भएको आरोप लगाएका छन्।

शौचालय निर्माण उपभोक्ता समितीका अध्यक्ष रतिराम चौधरीले भने निर्माणका क्रममा साढे २७ लाख नै खर्च भएको दावी गरे। ‘शौचालय निर्माण गर्दा कुनै घोटाला भएको छैन्,’ उनले भने, ‘आरोपका लागि आरोप मात्रै लगाईएको हो।’

यता कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सो बारेमा आफुले धेरै जानकारी नभएको र वडा अध्यक्षसंग बुझ्न आग्रह गरे। वडा नम्वर ९ का अध्यक्ष खेमराज चौधरीले पनि शौचालय निर्माणमा अनियमितता भएको आशंका गरे। ‘माथिल्लो निकायबाट बजेट कार्यान्वयनका लागि दवाव आएको थियो,’ उनले भने, ‘शौचालय हेर्दा साढे २७ लाख खर्च भएको त देखिन्न, तरपनि दवाव र प्रभावमा परेर काम गर्नुपर्ने बाध्यता छ।’
 

कमेन्ट लोड गर्नुस