सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरी र नाइमाबीच समझदारीपत्रमा हस्ताक्षर

२०८२ पुष २९, ०८:२२ रासस

काठमाडौँः नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ।

नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ।     

ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ समुद्घाटन कार्यक्रमका अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एशोसिएसनका बोर्ड सदस्य सौरभ ज्योतिबीच समझदारीपत्र आदानप्रदान भएको हो। समझदारीअनुसार एशोसिएसनका  आफ्ना सदस्य कम्पनीको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ।

यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ। समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम आगामी माघ ४ गते आइतबारदेखि सुरु हुनेछ। तालिम १७ दिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ।

तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारीसाधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्याण्ड–जेस्चर सीपलगायत विषय समेटिएका छन्। 

कमेन्ट लोड गर्नुस